ल्याएको १६ महिनापछि साझाले गुडायाे ४० वटै विद्युतीय बस, बनायाे देशकै ठूलो चार्जिङ स्टेशन

काठमाडौं । साझा यातातयातले आजदेखि ४० वटै विद्युतीय बस संचालनमा ल्याएको छ । चीनबाट ल्याएको १६ महिनापछि साझाले सबै विद्युतीय बस गुडाएको हो ।

साझाले गत वर्ष मंसिरमा चीनबाट ४० वटा विद्युतीय बस ल्याएको थियो । पर्याप्त चार्जिङ स्टेशन नहुँदा ३ वटा बस मात्रै संचालनमा थिए भने ३७ वटा बस थन्किएर बसेका थिए ।

साझाले आजदेखि पुलचोकमा देशकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन संचालनमा ल्यासँगै सबै विद्युतीय बस गुडाउन थालेका हुन् । बिजुली बस र चार्जिङ डिपोको आज उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उद्घाटन गरेका हुन् ।

साझा यातायातका महाप्रबन्ध महेन्द्रराज पाण्डेका अनुसार उक्त चार्जिङ स्टेशनमा एकैपटकमा २२ वटा बस चार्ज गर्न मिल्छ । उक्त चार्जिङ स्टेशनले १.१ मेगावाट बराबरको बिजुली खपत गर्ने क्षमता रहेको उनले बताए ।

साझाले संचालनमा ल्याएका विद्युती बस साढे ८ मिटर लम्बाइका छन् । बसमा २६ सिट रहेका छन् । यो बस एकपटक फुल चार्ज गरेपछि २०० किलोमिट् गुड्ने साझाले जानकारी दिएको छ ।साझाकाअनुसार बस होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्ने ठाउँ, मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । अरू बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी रहेको साझाको दाबी छ ।

साझाले भ्याटसहित ६१ करोड रुपैयाँ लगानीमा चीनबाट ४० वटा विद्युतीय बस ल्याएको हाे । यीसँगै साझाकाे कुल बस संख्या १११ वटा पुगेको छ । जसमा ४० वटा विद्युतीय र ७१ वटा इन्धनबाट चल्ने रहेका छन् ।

फाइनान्स चम्किँदा नेप्सेमा वृद्धि, यी ४ कम्पनीको मूल्यमा सर्किट Read Previous

फाइनान्स चम्किँदा नेप्सेमा वृद्धि, यी ४ कम्पनीको मूल्यमा सर्किट

लगानी सम्मेलनमा ११०० बढीलाई निम्ता, 'शाेकेस'मा १२५ आयोजना Read Next

लगानी सम्मेलनमा ११०० बढीलाई निम्ता, 'शाेकेस'मा १२५ आयोजना