काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुलाई चैत २९ गते कार्ययोजना पेश गर्न लगाइने भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष्य डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा रहेको छनोट समितिले छनोट भएका अन्तिम ५ जनालाई बिहीबार कार्ययोजना प्रस्तुत गर्न लगाउने भएको हो ।
कार्ययोजनाका आधारमा समितिले ३ जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जना मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।
छनोट समितिले बोर्ड अध्यक्षका लागि १९ जना आवेदक मध्येबाट ५ जना सर्टलिस्ट गरेको छ । सर्टलिस्टमा चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ परेका छन् ।
चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
बोर्ड अध्यक्षको कार्यालका ४ वर्षको हुनेछ । गत पुस तेस्रो साता तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पूरा भएसँगै ३ महिनादेखि बोर्ड नेतृत्वबिहीन छ ।
अध्यक्ष नहुँदा बोर्डको कामकारबाही प्रभावित भएका छन् । महिनौंदेखि आवेदन दिएर पाइपलाइनमा बसेका कम्पनीले आइपीओ र हकप्रद सेयर निष्काशनको अनुमति पाउन सकेका छैनन् ।
त्यस्तै, नयाँ स्कट एक्सचेन्जको लाइसेन्स, मार्जिन लेन्डिङ लगायत काम पनि अघि बढ्न सकेका छैनन् ।