सुन भण्डारण बढाउँदै विश्वका ठूला देश, कुनसँग कति छ ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । आगामी दिनमा सुनको मूल्य झनै बढ्ने विश्वव्यापी प्रक्षेपण भइरहेका छन् ।

पछिल्लो डेढ वर्षमै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३५ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । विश्व बजारमा सन् २०२२ अक्टोबरमा प्रतिऔंस १६९० डलर रहेको सुनको मूल्य आज २३०० डलर हाराहारी पुगेको छ । सन् २०२३ को सेम्टेम्बरदेखि भने एकोहोरो बढिरहेको छ ।

विश्वव्यापी मूल्य बढेसँगै नेपालमा पनि एक वर्षमै तोलामा झन्डै ३० हजार रुपैयाँभन्दा धेरै बढिसकेको छ । अहिले विश्व बजारमा सुनको मूल्य अचाक्ली बढ्नुमा मुख्य ३ कारण रहेको जानकारहरू बताउँछन् ।

विश्वव्यापी डलरको प्रभुत्व कमजोर हुँदै जानु, अमेरिकी फेडेरल बैंक र स्वीस बैंकले ब्याजदर घटाउँदै लैजानु र विश्वका अधिकांश देशले सुनको सञ्चय बढाउँदै लैजानु रहेका छन् ।

साथै, विश्वका विभिन्न देश बीच भइरहेको युद्ध, बढ्दो आर्थिक असमानता, धनाढ्यहरूको प्रतिष्ठा लगायत कारणले पनि सुनको मूल्य आकाशिन पुगेको हो ।

विश्व बजारमा सुनको भाउ आकाशिँदै जाँदा ठूला अर्थतन्त्र भएको देशहहरूले पनि संचिति बढाउँदै लगेका छन् । डलरको प्रभाव कमजोर हुँदै गएसँगै विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाले समेत सुनको भण्डार बढाइरहेको छ । त्यस्तै, विश्वका ठूला र उदयीमान अर्थतन्त्र भएका देशहरूले पनि ठूलो मात्रमा सुन खरिद गरिरहेका छन् ।

कुन देशसँग कति छ सुनकाे मौज्दात ?

विश्व सुन परिषद्को तथ्यांकले पनि पछिल्लो समय ठूला देशहरूले सुनको भण्डारण बढाउँदै लगेको बताएको छ । परिषद्का अनुसार विश्वका १०० बढी देशले मात्र ३२ हजार टन सुन भण्डारण गरेको परिषद्को तथ्यांक छ ।

विश्वमा सबैभन्दा धेरै सुन अमेरिकासँग भण्डारण रहेको छ ।  हाल अमेरिकासँग मात्रै ८ हजार १३३ टन सुन रिजर्भ रहेको छ । यो दोस्रो स्थानमा रहेको जर्मनीकोभन्दा दोब्बर बढी धेरै हो । अमेरिकाको विदेशी मुद्रा संचितिमा सुनको हिस्सा ७० प्रतिशतभन्दा धेरै रहेको छ ।

यस्तै, विश्वमा दोस्रो धरै सुन जर्मनीसँग ३ हजार ३५३ टन छ । यसैगरी, तेस्रो धेरै सुन इटलीसँग २ हजार ४५२ टन, फ्रान्ससँग २ हजार ४३७ टन, रसियासँग २ हजार ३३३ टन सुन छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले पछिल्लो १ वर्षमा मात्रै ४३.८६ टन सुन किनेको छ । हाल चीनसँग विश्वको छैटौं धेरै २ हजार २३५ टन सुन छ ।

यसैगरी, विश्वमा धेरै सुन भण्डारण हुने देशहरूमा क्रमशः स्वीट्जरल्याण्ड (१०४० टन), जापान (८४६ टन), भारत (८०४ टन) र नेदरल्याण्ड (६१२ टन) सातौंदेखि दशौं स्थानमा रहेका छन् ।

नेपाल विश्वमा धेरै सुन हुने देशहरूको सूचीमा ७२ औं स्थानमा रहेको छ । हाल नेपालसँग ७.९९ टन सुन रहेको परिषद्को तथ्यांक छ ।

बन्दीपुरमा पाँचतारे होटल निर्माण, नयाँ वर्षदेखि संचालनमा आउने Read Previous

बन्दीपुरमा पाँचतारे होटल निर्माण, नयाँ वर्षदेखि संचालनमा आउने

नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ Read Next

नेसनल मेडिकल कलेजका सञ्चालक पक्राउ