वैशाख भित्रै ‘ब्रेक थ्रु’ हुँदै राष्ट्रिय गौरवका दुई सुरुङमार्ग, यस्तो छ प्रगति

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुआति महिना (वैशाख)मा राष्ट्रिय गौरवका दुई सुरुङमार्ग ब्रेक थ्रु हुने भएका छन् । सडक र सिँचाइ आयोजना अन्तर्गतका दुई सुरुङको वैशाख भित्रै ब्रेक थ्रु गरिने भएको हो ।

देशको आर्थिक समृद्धिसँग समेत जोडिएका नागढुंगा–नौबिसे र सुनकोशी मरिण डाइभर्सनको सुरुङमार्ग वैशाख भित्रै ब्रेक थ्रु गरिने भएका हुन् । यी दुई सुरुङमार्गको कुल लम्बाइ १६ किलोमिटर बढी छ ।

सवारी साधन गुड्ने नेपालकै पहिलो नागढुंगा-सुरुङमार्ग वैशाख पहिलो साता ( सम्भावित दिन वैशाख ३ गते) ब्रेक थ्रु गरिने भएको छ । त्यस्तै, तराईको कृषि क्षेत्रको गेम्चेन्जर आयोजना सुनकोशी मरिणको वैशाख अन्तिमसम्म ब्रेक थ्रु गरिने भएको हो ।

नागढुंगा सुरुङमार्ग थपिएको समयमा ब्रेक थ्रु हुन लागेको हो भने सुनकोशी मरिण तोकिएको समयभन्दा ६ महिना अगावै ब्रेक थ्रु हुने भएको हो ।

हाल निर्माणाधीन अवस्थमा रहेका डेढ दर्जन राष्ट्रिय गौरवका आयोजना सुस्त गतिमा काम भइरहँदा यी दुई आयोजनाले भने केही आशा जगाएका छन् । अधिकांश राष्ट्रिय गौरवका आयोजना दशकौंसम्म सम्पन्न नहुने रोगबाट ग्रसित छन् । जसकारण एकातिर लागत बढ्दा राज्यलाई भार थपिएको छ भने अर्कोतर्फ सर्वसाधरणले हैरानी र सास्ती व्यहोर्नुपरिरहेको छ ।

कुनै पनि ठूला आयोजना समयमै नसकिरहेको बेलामा मुख्यगरी सुनकोशी मरिणको सुरुङ निर्माणले भने आशा जगाएको हो । यो आयोजना ठेक्का अवधिभन्दा ६ महिना अगावै पूरा हुँदैछ ।

यस्तो छ प्रगति

नेपालकै पहिलो नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । बुधबारसम्म आयोजनाको मुख्य सुरुङ खन्न ३ मिटर मात्र बाँकी रहेको छ  ।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये २६८५ मिटर खनिसकिएको छ । अब ३ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको छ । अब १ मिटर सुरुङ खनेर बाँकी २ मिटर ब्रेक थ्रु गर्ने दिन खनिने आयोजनाले जनाएको छ ।

आयोजनाको २५५७ मिटर लामो आपतकालीन सुरुङ भने गत साउन २२ गते नै ब्रेक थ्रु गरिएको थियो । यसअघि जलविद्युत् र सिँचाइ आयोजनाका दर्जनौं सुरुङ खनिए पनि सवारीसाधन गुड्ने यो नेपालकै पहिलो सुरुङमार्ग हो ।

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । अहिले सुरुङको फिनसिङ (कंक्रिट लाइनिङ)पनि सँगसँगै भइरहेको छ । सुरुङमार्गको ब्रेक थ्रुपछि पनि गाडी गुड्ने बनाउन भने झन्डै १ वर्ष लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

सुरुङमार्गको फिनसिङ, सुरक्षा, लाइटिङ, अक्सिजन जडान लगायत काम बाँकी छ । आयोजना अन्तर्गत निर्माण हुने अन्य १२ वटा संरचनामध्ये ११ वटा संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजना अन्तर्गत ३ वटा अण्डर पास, ४ वटा कल्भर्ट, ३ वटा पुल र एउटा ओभरपास निर्माण सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गतका संरचना मध्ये अब फ्लाइओभर निर्माण मात्र बाँकी रहेको छ । फ्लाइओभरको फाउन्डेसन र सबस्ट्रक्चर निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी काम सक्न करिब ६ महिना लाग्ने आयोजनाले जनाएको छ ।

४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । कोरोनाका कारण तोकिएकै समयमा काम नसकिएपछि १ वर्ष म्याद थप गरिएको छ । थपिएको म्याद आगामी वैशाख १३ गते सकिँदै छ । सो समयमा सबै काम पूरा नहुने भएपछि फेरि म्याद थप्नुपर्नेछ । स्थानीयको आन्दोलनका फागुनमा झन्डै एक महिना आयोजनाको काम रोकिएको थियो ।

यो आयोजना कुल २२ अर्ब रुपैयाँमा ठेक्का लागेको हो । आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

सुनकोशी-मरिणको ७९० मिटर मात्रै खन्न बाँकी

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ वैशाख भित्रै ब्रेक थ्रु गरिने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३.३ किलोमिटर लामो सुरुङको अब ७९० मिटर मात्र खन्न बाँकी छ । हालसम्म १२.५१ किलोमिटर सुरुङ खनिसकिएको छ ।

सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए । आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ ।

निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति देखिँदैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सकिएको छ । त्यो स्वीकृतिको अन्तिम चरणमा छ । यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको काम पनि अगाडि बढाउन लागिएको आयोजना प्रमुख बरालले जानकारी दिए ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

आयोजनाका लागि सुनकोशी गाउँपालिका-७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा पथान्तरण गरिनेछ । सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

विसं २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर खनिएको छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

नारायणगढ-बुटवल सडकको २९ किलोमिटर कालोपत्र गरियाे Read Previous

नारायणगढ-बुटवल सडकको २९ किलोमिटर कालोपत्र गरियाे

नेष्डो लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने Read Next

नेष्डो लघुवित्तका सेयरधनीको पनि हात खाली, लाभांश नदिने