नारायणगढ-बुटवल सडकको २९ किलोमिटर कालोपत्र गरियाे

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ ।

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किमी सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताए ।

पूर्वी खण्डको ६५ किमी सडकमध्ये १९ किमी एकतर्फ र अर्कोतर्फ १० किमी गरी २९ किमी कालोपत्र गरिएको उनले जानकारी दिए। झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ-बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८.६१ प्रतिशत पुगेको छ । विसं २०७५ माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

आगामी असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताए। ‘हाम्रो लक्ष्य दाउन्ने बाहेक पूर्वी खण्डमा एकतर्फी रुपमा कालोपत्र गरेर सक्ने छ । कुनै अवरोध नआए सक्छौँ,’ उनले भने ।

दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै पाँच किमीमध्ये ३०० मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिए । एक साताभित्र भित्ता काट्ने काम सकिने उनको भनाइ छ ।

यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजना अनुसार काम भइरहेको झाले बताए । अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एकदुई दिनमा काम सकिने उनले बताए ।

पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्नेगरि काम भइरहेको झाले बताए । उनका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा ३ र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण हुनेछ ।

गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माण भइरहेको झाले जानकारी दिए । करिब रू १७ अर्ब लागत लाग्ने उक्त आयोजना लामो समयसम्म सम्पन्न नहुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

कालोपत्रको कामसँगै पुल निर्माणसमेत अगाडि बढिरहेको ठेक्का सहव्यवस्थापक झाले बताए । उनका अनुसार नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ठूला १२ वटा पुल निर्माण हुनेछन् । यस खण्डमा साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा करिब सबै पुल निर्माण सकिएको छ । ठूला पुल निर्माण भइरहेका उनको भनाइ छ ।रासस

दर्जन बीमा कम्पनीको लाभांश घोषणा, यी ८ कम्पनीले नदिने Read Previous

दर्जन बीमा कम्पनीको लाभांश घोषणा, यी ८ कम्पनीले नदिने

वैशाख भित्रै 'ब्रेक थ्रु' हुँदै राष्ट्रिय गौरवका दुई सुरुङमार्ग, यस्तो छ प्रगति Read Next

वैशाख भित्रै 'ब्रेक थ्रु' हुँदै राष्ट्रिय गौरवका दुई सुरुङमार्ग, यस्तो छ प्रगति