हुलाकी राजमार्गको १८१ किलोमिटर सडक कालोपत्र सम्पन्न

वीरगञ्ज । हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्ज मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा १८१ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

कार्यालय मातहत दुई खण्डमा कूल २२९.७ किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए । ‘निकुञ्ज क्षेत्रमा सडक विस्तारको कार्य अघि बढाउन समस्या भइरहेको छ,’ उनले भने, ‘अन्य स्थानमा भने सडक निर्माणले गति लिइरहेको छ ।’

कार्यालय मातहत २२९.७ किलोमिटर सडक पर्दछ । त्यसमा पूर्व-पश्चिम खण्डमा १५३ किलोमिटर र उत्तर-दक्षिण खण्डमा ७६.७ किलोमिटर सडक पर्दछ । कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा १८१.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । पूर्वपश्चिम खण्डमा १०९ किलोमिटर र उत्तर-दक्षिण खण्डमा ७२.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने आङ्कलन गरेका छन् ।

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाहरुको म्याद थपको प्रावधान विगतको तुलनामा अहिले केही खुकुलो पारिएको छ, यदि आयोजनाहरुको म्याद थप भएको खण्डमा सडक निर्माणको कामले गति लिने आशा गरेका छौँ,’ उनले भने, ‘उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि वीरगञ्जमा आएको सन्दर्भमा बजेट अभाव नहुने भन्दै प्रतिबद्धता पनि जनाउनुभएकाले पनि पूर्वाधार निर्माणमा सहज वातावरण बन्ने अपेक्षा लिएका छौँ ।’

हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व–पश्चिमको १५३ किलोमिटर सडकमध्ये हालसम्म १०९ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए । ‘यो खण्डमा पर्ने पर्साको ठोरीदेखि चितवनको माडीसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने १५ किलोमिटर सडक कालोपत्र गर्न सकेका छैनौँ,’ उनले भने । रासस

१ वर्षमै थपिए १४१ जना डलर अर्बपति, नेपालका चौधरी १७६४ औं स्थानमा Read Previous

१ वर्षमै थपिए १४१ जना डलर अर्बपति, नेपालका चौधरी १७६४ औं स्थानमा

विदेशीलाई नेपालमा विद्यार्थी भिसा दिइने Read Next

विदेशीलाई नेपालमा विद्यार्थी भिसा दिइने