१ महिनासम्म चल्ने भर्चुअल मेलाको स्टल बुकिङ खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआइसीके)ले भर्चुअल मेलाका लागि व्यावसायिक स्टल बुकिङ खुला गरेको छ ।

आगामी वैशाख १५ देखि जेठ १५ गतेसम्म एक महिना सञ्चालन हुने भर्चुअल मेलाको स्टल बुकिङ्ग खुल्ना साथ ७० वटा स्टल बुकिङ भएको मेला प्रदर्शनी तथा प्रकाशन समितिका सभापति उज्वलजंग शाहले जानकारी दिए ।

बदलिँदो आधुनिकतासँगै आम उपभोक्ताहरूको जीवनशैलीमा आएको परिवर्तनलाई दृष्टिगत गर्दै भर्चुअल मेला आयोजना गर्न लागिएको सभापति शाहको भनाइ छ ।

‘डिजिटल युगको सदुपयोग गरेर हामीले आगामी कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेका हौँ,’ उनले भने, ‘आधुनिक समाजमा हामीले हाम्रो सशक्त उपस्थिति जनाउन अति आवश्यक छ । प्रदर्शनीसँगै समाजलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच्न जरुरी छ । यसरी भर्चुअल प्रदर्शनी गर्दा ग्राहक र व्यवसायी दुवैलाई फाइदा हुन्छ । हामीले धेरैसँग सहकार्य गर्न सक्छौँ ।’

यस्तै, संघका अध्यक्ष दिनेश श्रेष्ठले उद्योग वाणिज्य संघ, काठमाडौंद्वारा आयोजना हुन लागेको पहिलो भर्चुअल मेलामा उल्लेख्य सहभागिता जनाउन सरोकारवाला र आम नेपालीसमक्ष आग्रह गरेका छन् ।

‘आर्थिक मन्दीको अवस्थालाई बुझेर मेला आयोजना गर्न लागेका हौँ । खाली समयलाई सदुपयोग गरेर मेला अवलोकन गरिदिनुस् । अहिले डिजिटल युग छ । त्यसैले हामीले पनि भर्चुअल रूपमा प्रदर्शनी गर्न लागेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘मेलामा होलसेलर, रिटेलरदेखि हरेक व्यवसायीको सहभागिता रहने छ । यसबाट व्यापार व्यवसाय झनै बढ्ने छ । यसमा सबै समावेश हुन सक्ने छन् । हाम्रा स्टलहरू असीमित छन्, तर पनि समयमै बुकिङ गरी आफ्नो स्थान सुरक्षित गर्न म आग्रह गर्दछु ।’

मेलाको स्टल बुकिङ अनलाइनबाट नै गर्न सकिन्छ भने यो वर्ष भरिनै सञ्चालन गर्ने तयारी पनि भइरहेको जानकारी उनले दिए । मेलामा ५० लाख अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

बाफियाको पहिलो संशोधन विधेयक संसदमा पेश Read Previous

बाफियाको पहिलो संशोधन विधेयक संसदमा पेश

सरकारले स्थानीय तह र प्रदेशलाई दिने अनुदानको सीमा तय, कसले कति पाउँछन् ? Read Next

सरकारले स्थानीय तह र प्रदेशलाई दिने अनुदानको सीमा तय, कसले कति पाउँछन् ?