बाफियाको पहिलो संशोधन विधेयक संसदमा पेश

काठमाडौं । प्रतिनिधि सभामा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ (बाफिया) पेश भएको छ । अर्थमन्त्री वर्षमान पुनले आजको बैठकमा उक्त विधेयक पेश गरेका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न आवश्यक रहेकाले यो विधेयक ल्याइएको अर्थमन्त्री पुनले बताए ।

त्यस्तै, प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए ।

नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरुको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ ।

विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका महत्वपूर्ण व्यवस्थाहरु समेटेको छ ।

प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पेश गरेको ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव आजको बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ ।

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको काम निकै सुस्त, पूर्वीको आधा सकियो Read Previous

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको काम निकै सुस्त, पूर्वीको आधा सकियो

१ महिनासम्म चल्ने भर्चुअल मेलाको स्टल बुकिङ खुला Read Next

१ महिनासम्म चल्ने भर्चुअल मेलाको स्टल बुकिङ खुला