आन्तरिक अर्थतन्त्र सुधार्न विदेशी मुद्रा सञ्चिति उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए ।

गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा वार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे ।

ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण

सभा आयोजना गर्ने बताए । उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए ।

यसैबीच, उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले नबुझेको उनले बताए ।

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । उनले नियम विपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे ।

निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । ‘यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौं । र, राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौं,’ उनले जानकारी दिए ।

अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । हामी लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्नेछौं । मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।

गहुँको मूल्य वृद्धि नियन्त्रण गर्ने भारतको प्रयास, हरेक शुक्रबार भण्डारको स्थिति सार्वजनिक गर्नुपर्ने Read Previous

गहुँको मूल्य वृद्धि नियन्त्रण गर्ने भारतको प्रयास, हरेक शुक्रबार भण्डारको स्थिति सार्वजनिक गर्नुपर्ने

महालेखा परीक्षकमा तोयम राया सफारिस Read Next

महालेखा परीक्षकमा तोयम राया सफारिस