काठमाडौं । निर्जीवन बीमा व्यवसायको मेरुदण्ड रहेको मोटर बीमाको हिस्सा घट्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल निर्जीवन बीमा व्यवसाय बढे पनि मोटर बीमा भने घटेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ८ महिनामा निर्जीवन बीमा व्यवसाय १.५२ प्रतिशतले बढेको छ । तर, यही अवधिमा मोटर बीमा भने ४.०८ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको फागुनसम्म निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३२.९५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३१.१४ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा मोटर बीमाको हिस्सा १.८१ प्रतिशत बिन्दुले घटेको छ ।
गत वर्ष फागुनसम्म निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत ८ अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए भने चालु आवमा घटेर ८ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा मोटर बीमा बापत संकलन हुने प्रिमियम ३४ करोड ८० लाख रुपैयाँले घटेको छ । जबकि यही अवधिमा कुल बीमाशुल्क भने ३९ करोड ५० लाख रुपैयाँले बढेको छ ।
निर्जीवन बीमा व्यवसाय धान्ने प्रमुख क्षेत्र मोटर बीमा नै हो । तर, अर्थतन्त्रमा आएको संकुचनका कारण सवारीसाधनको बिक्रीमा भारी गिरावट आउँदा मोटर बीमा घटेको हो । गत वर्षको तुलनामा चालु आवमा नयाँ सवारीसाधनको बिक्री झन्डै आधाले घटेको छ । पुराना सवारीसाधनको बीमालेख नवीकरण पनि घटेकाले समग्र मोटर बीमा घटेको हो ।
सवारी साधनको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्थाका कारण निर्जीवन बीमा व्यवसायको हिस्सा सबैभन्दा धेरै रहेको छ ।
निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा बाली, सम्पत्ति, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, लघु बीमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । मोटर बीमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्यांकले देखाउँछ ।
अनुदान दिँदा पनि घट्दै कृषि बीमा
सरकारले अनुदान दिँदा पनि कृषि तथा बाली बीमा घने घट्दो छ । अन्य वस्तुको बीमा गर्न धनीले सबै प्रिमियम तिर्नुपर्छ । कृषिमा सरकारले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । तर, कृषि बीमा भने घट्दो क्रममा रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार गत वर्ष फागुनसम्म निर्जीवन बीमा व्यवसायमा कृषि बीमाको हिस्सा ५.६८ प्रतिशत रहेकोमा चालु वर्षको सोही अवधिमा घटेर ५.६१ प्रतितशमा सीमित भएको छ ।
बीमा कम्पनीहरू सहर केन्द्रित हुनु र कृषकले बीमाको महत्व बुझन नसक्दा कृषि बीमामा आकर्षण बढ्न नसकेको जानकारहरू बताउँछन् ।
लघुबीमा भने अढाई गुणाले बढ्यो
गत वर्ष फागुनको तुलनामा चालु वर्षको सोही अवधिमा लघुबीमा व्यवसाय भने झन्डै अढाई गुणाले बढेको छ । प्राधिकरणका अनुसार गत वर्ष निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा ०.१८ प्रतिशत रहेकोमा चालु आवमा बढेर ०.४४ प्रतिशत पुगेको छ । गत वर्ष लघुबीमा बापत ४ करोड ८५ लाख बीमाशुल्क संकलन भएकोमा चालु आवमा बढेर ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
बीमाको पहुँच बढाउने उद्देश्यले सरकारले गत वर्ष ४ वष निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । तीमध्ये ३ कम्पनीले व्यवसाय सुरु गरिसकेका छन् । जसको सकारात्मक प्रभाव लघुबीमामा देखिएको हो ।
फागुनसम्मका कुल निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २४.५० प्रतिशत, सामुन्द्रिक बीमाको ५.०६ प्रतिशत, हवाई बीमाको ६.५९, इन्जिनीयरिङ बीमाको १५.३१ र विविध बीमाको हिस्सा ११.३५ प्रतिशत रहेको छ ।