काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार देखिन थालेको छ । चालु वर्षको सुरूदेखि नै घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसाय आठौं महिना (फागुन)मा भने सुधार देखिएको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको फागुनको तुलनामा चालु आवको सोही अवधिमा बीमा शुल्क संकलन १.५२ प्रतिशतले बढेको हो । चालु वर्षमा फागुनमा पहिलोपटक निर्जीवन बीमा व्यवसाय बढेको हो । चालु वर्षमा जीवन बीमा व्यवसाय बढे पनि निर्जीवन भने बढ्न सकेको थिएन ।
प्राधिकरणका अनुसार चालु वर्षको ८ महिना (साउन-फागुनसम्म) १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा गरी १७ कम्पनीले कुल २६ अर्ब २६ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ३९ करोड रुपैयाँ धेरै हो । गत वर्ष फागुनसम्म निर्जीवन बीमा कम्पनीले कुल २५ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
फागुनसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल २६ अर्ब १६ अर्ब ५० लाख रुपैयाँ र ३ निर्जीवन लघुबीमा कम्पनीले १० करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८० करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना कम्पनीहरूले २ लाख ५९ हजार ३७ वटा बीमालेख जारी गरेका छन् ।
पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । सरकार र नेपाल राष्ट्र बैंकको प्रयास र नीतिगत लचकताका कारण पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान हुँदै गएको छ । जसको सकारात्मक प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो ।
अर्थतन्त्रमा आएको संकुचनका कारण चालु वर्षको सुरूदेखि नै निर्जीवन बीमा व्यवसायमा धक्का लागेको थियो । मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा भारी गिरावट आउँदा व्यवसायमा ठूलो असर परेको हो । त्यस्तै, पूर्वाधार निर्माण सुस्त हुँदा पनि असर परेको देखिन्छ ।
पोलिसी संख्या साढे ८५ हजार बढ्यो
समीक्षा अवधिमा बीमा प्रिमियम संकलन बढेसँगै बीमालेख संख्यामा पनि वृद्धि भएको छ । गत वर्षको फागुनको तुलनामा चालु वर्षमा बीमालेख संख्या ४.५६ प्रतिशत अर्थात् ८५ हजार ५७१ वटाले बढेको प्राधिकरणको तथ्यांक छ ।
गत वर्ष ८ महिनामा १८ लाख ७६ हजार ४५३ वटा पोलिसी जारी भएकोमा चालु वर्षको सोही अवधिमा १९ लाख ६२ हजार २४ वटा पोलिसी बिक्री गरेका छन् ।
शिखरको वर्चश्व कायमै, पछ्याउँदै सलिको
व्यवसायमा शिखर इन्स्यारेन्सले आफ्नो वर्चश्व कायमै राखेको छ । गत वर्ष साविकका १० बीमा कम्पनी मर्ज भई ५ ठूला कम्पनी बनेका थिए । तीमध्ये ३ वटाको चुक्ता पूँजी शिखरकोभन्दा धेरै छ । तर, मर्जरबाट सिनर्जी प्राप्त गर्न नसक्दा ती कम्पनीले व्यवसायमा शिखरलाई उछिन्न सकेको देखिँदैन ।
मर्जपछि बनेका कम्पनीहरू व्यवसायमा शिखरभन्दा निकै पछि देखिन्छन् । फागुन मसान्तसम्म शिखरले ३ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो शिखरलाई पछ्याइरहेको सगरमाथा लुम्बिनीकोभन्दा ६७ करोड रुपैयाँ धेरै हो । समीक्षा अवधिमा शिखरको व्यवसाय ३६ करोड रुपैयाँले बढेको छ । गत वर्ष फागुनसम्म शिखरले २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । यस वर्ष फागुनसम्म शिखरले कुल २ लाख ८ हजार २४५ वटा बीमालेख जारी गरेको छ ।
समीक्षा अवधिमा शिखरको व्यवसाय अन्य तीन कम्पनीको कुल व्यवसायभन्दा धेरै हो । फागुनसम्म नेशनल, नेपाल र ओरेन्टलले जम्मा २ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी (सलिको)ले शिखरलाई पछ्याएको छ । तर, उछिन्न सकेको छैन । यस अवधिमा सलिकोले ३ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, साविकको सिद्धार्थ र प्रिमियर मर्ज भई बनेको सिद्धार्थ प्रिमियर पनि व्यवसायमा शिखरभन्दा निकै पछि छ । फागुनसम्म सिद्धार्थ प्रिमयरले २ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा १ अर्ब १५ करोड रुपैयाँ कम हो ।
त्यस्तै, मर्ज भई बनेका आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआइसी व्यवसायमा शिखरको छेउछाउ समेत पुग्न सकेका छैनन् । फागुनसम्म आइजीआई प्रुडेन्सियलले १ अर्ब ७४ करोड, हिमालयन एभरेष्टले २ अर्ब ८ करोड बीमाशुल्क संकलन गरेका छन् । सानिमा जीआइसीले शिखरको तुलनामा आधाभन्दा कम प्रिमियम संकलन गरेको छ । फागुनसम्म यसले १ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मर्जरबाट पूँजीको आकार बढाए पनि सिनर्जी प्राप्त गर्न नसक्दा अन्य कम्पनीहरूले शिखरलाई टक्कर दिन नसकेका हुन् ।
फागुनसम्म नेकोले २ अर्ब ११ करोड, युनाइटेज अजोड १ अर्ब ७४ करोड, एनएलजी, १ अर्ब ६२ करोड, राष्ट्रिय बीमा कम्पनी १ अर्ब २६ करोड, प्रभु १ अर्ब २० करोड, ओरेन्टल १ अर्ब १८ करोड र नेपालले ९९ करोड बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ७६ करोड १३ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।
लघुबीमाको हिस्सा नगन्य
निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा नगन्य देखिएको छ । गतवर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले ८ महिनामा जम्मा १० करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको ०.३९ प्रतिशत मात्रै हो ।
नयाँ योजना ल्याउन नसक्दा लघुबीमाले अपेक्षित रुपमा व्यवसाय बढाउन नसकेको देखिएको छ । फागुनसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड ९० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ करोड ४८ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।