विश्व बैंकको स्थलगत अध्ययनपछि महेन्द्र राजमार्गका १४ पुल मर्मत गरिँदै

कञ्चनपुर । महेन्द्र राजमार्गअन्तर्गत चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म पर्ने १४ पुल मर्मत गरिँदै छ ।

सडक विभागको पुल महाशाखाले ठेक्का सम्झौता गरी कर्णाली नदीको चिसापानी-गड्डाचौकीसम्मको राजमार्गमा पर्ने १४ पुल एकै साथ मर्मत भइरहेको जनाएको छ ।

विसं २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल सघन रूपमा मर्मत भइरहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सबइन्जिनियर दुर्गादत्त अवस्थीले निर्माणाधीन सबै पुल विश्व बैङ्कको प्राविधिक टोलीले मर्मतका लागि छनोट गरेको जानकारी दिए । ‘चौधमध्ये पाँच वटा पुलको मर्मत सकिएको छ । बाँकीमा काम भइरहेको छ,’ उनले भने, ‘विश्व बैङ्कले जीर्ण पुलको अवस्था स्थलगत रूपमा अध्ययन गरी छनोट गरेपछि पुल महाशाखाले ठेक्कामार्फत मर्मत गरिरहेको हो ।’

यसअघि पनि सामान्य रूपमा पुल मर्मत कार्य हुने गरेपनि राजमार्गका पुलहरु विस्तृतरुपमा निर्माण भएपछि पहिलो पटक मर्मत गर्न लागिएको सवइन्जिनियर अवस्थीले बताए । महाकाली मार्गमा पर्ने कैलालीमा थप दुई पुलको मर्मत भइरहेको पुल योजना कार्यालयले जनाएको छ ।

‘विश्व बैङ्कको समूहपछि हाम्रो प्राविधिक समूहले पनि पुलको अवस्थाबारे स्थलगतरुपमा अध्ययन गरी अनुमानित लागतसहित पुल मर्मत गर्नुपर्ने कारणबारे प्रतिवेदन पुल महाशाखा पठाएका थियौँ,’ अवस्थीले भने, ‘अर्को चरणमा राजमार्गका बाँकी पुल र सुदूरपश्चिमको पहाडी जिल्लामा मुख्य सडक र पुलको मर्मतको योजना छ ।’

कर्णाली नदी वारी २०५० सालपछि एकैसाथ २२ पक्की पुल नेपाल-भारत सरकारको सहयोगमा योजना कार्यालयले निर्माण गरेको जनाइएको छ ।

‘बाइसमध्ये १२ पुल आगामी जेठसम्म मर्मत भइसक्छन्स,’ सबइन्जिनियर अवस्थीले भने, ‘मर्मतको अवधि आगामी चैत २२ गते सकिने भएपनि जेठसम्म म्याद थपका लागि विभागमा फाइल पठाएका छौँ ।’ हिम-सगरमाथा निर्माण सेवाले रू १६ करोड ९३ लाखमा पुल मर्मतको जिम्मेवारी पाएको उनको भनाइ छ ।

त्यसैगरी, महेन्द्रनगरपस्थित सडक डिभिजन कार्यालयले गड्डाचौकीबाट कर्णाली चिसापानीसम्म राजमार्गका विभिन्न स्थानमा सडक मर्मत र स्तरोन्नति जारी राखेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले राजमार्ग अन्तर्गत कैलालीको चिसापानीबाट लम्कीसम्म आवधिक मर्मत भइरहेको जानकारी दिए । ‘सो खण्ड रू सात करोडमा ठेक्का भएर काम भइरहेको छ,’ उनले भने, ‘वैशाखसम्म आवधिक मर्मत सकिन्छ ।’

प्रमुख सुवेदीले गड्डाचौकीबाट चिसापानीसम्मको १२८ किलोमिटर राजमार्गमा पर्ने विभिन्न स्थानमा सडक मर्मत भइरहेको बताए । ‘गत वर्ष ठेक्का भएर गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिकासम्म ठाउँठाउँमा राजमार्ग चौँडा गरिएको छ,’ उनले भने, ‘सडक स्तरोन्नतिका लागि गत वर्ष रू ६ करोडमा ठेक्का दिइएको थियो ।’

सडक डिभिजन कार्यालयका प्रमुख सुवेदीले नदी, खोला तथा नालाबाट उत्खनन् गरेर ल्याइने नदीजन्य पदार्थ ढुवानीका क्रममा राजमार्गमा पानी छरिँदा बिग्रिने गरेको बताए । ‘ट्रिप्पर/ट्रकमा बालुवा, ग्राइभेल बोक्दा पानीसहित ल्याउन नदिन प्रशासनसँग अनुरोध गरेका छौँ,’ उनले भने, ‘यसरी झर्ने पानीले गर्मी भन्दा पनि हिउँदमा राजमार्गमा जमेर खाल्डाखुल्डी हुने र सडक भत्किने गर्दछ ।’ रासस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन Read Previous

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला Read Next

आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला