काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलायन्सले आफ्नो थप दुई वटा जहाज ल्याएको छ । कम्पनीले मंगलबार ८० सिट क्षमताका दुई वटा बम्बार्डियर ड्यास ८ क्यू ४०० जहाज भित्र्याएको हो ।
योसँगै श्रीको विमान संख्या १८ पुगेको छ । कम्पनीसँग १० वटा जहाज र ८ वटा हेलिकम्पटर रहेका छन् । वायुयान संख्याका आधारमा श्री नेपालको सबैभन्दा ठूलो कम्पनी समेत बनेको छ । श्रीपछि बुद्ध एयरसँग दोस्रो धेरै १७ वटा जहाज रहेका छन् ।
श्री एयरलाइन्सका अनुसार थपिएका विमानबाट पोखरा, सुर्खेत, जनकपुर, सिमरा लगायतका आन्तरिक गन्तव्यमा उडान सेवा विस्तार गरिने छ ।
जहाज थपिएसँगै एयरलाइन्सले तुम्लिङटार र भरतपुरमा नियमित उडान संचालन गर्ने कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका कानुनी प्रक्रियाहरू पूरा गरी यी विमानहरू चाँडै उडान गरिने एयरलाइन्सकाे भनाइ छ ।
श्रीले यसअघि सन् २०१९ र सन् २०२२ मा २/२ वटा गरी ४ वटा ड्यास ८ क्यू ४०० जहाज ल्याएको थियो । श्रीले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीमा नियमित उडान गर्दै आएको छ । साथै, एयरलाइन्सले नियमति माउन्टेन फ्लाइट पनि गर्दै आएको छ ।