फागुनसम्म जीवन बीमा कम्पनीले गरे १ खर्बको व्यवसाय, कुनले कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन-फागुन)मा झन्डै १ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरू (१४ जीवन बीमा र ३ लघु जीवन बीमा)ले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल ९८ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ५.१९ प्रतिशत अर्थात् ४ अर्ब ८७ करोड रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनीहरूले ९३ अर्ब ७२ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए ।

यस अवधिमा १४ जीवन बीमा कम्पनीले ९८ अर्ब ५३ करोड र ३ लघुबीमा कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

पछिल्ला महिनाहरूमा अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा बीमा कम्पनीहरूको व्यवसाय पनि बढ्न थालेको हो । चालु वर्षको माघसम्म प्रथम बीमा शुल्क संकलन घटे पनि फागुनमा भने केही सुधार देखिएको छ । अघिल्ला महनिाहरूमा प्रथम बीमाशुल्क संकलन गत वर्षको तुलनामा घटे पनि फागुनमा भने बढेको छ ।

प्राधिकरणका अनुसार चालु आवको फागुनसम्म बीमा कम्पनीले १८ अर्ब ७२ करोड रुपैयाँ बराबरको नयाँ पोलिसी जारी गरेका छन् । गत वर्षको तुलनामा ३५ करोडले नयाँ व्यवसाय बढाएका हुन् ।

बीमा कम्पनीको समग्र व्यवसाय भने पुरानै पोलिसीले धानेको देखिन्छ । कुल बीमा शुल्कको ८१ प्रतिशत रकम बीमालेख नवीकरणाबाट उठाएका छन्। फागुनसम्म ७९ अर्ब ८६ करोड रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४ अर्ब ६६ करोड रुपैयाँ हो । गत वर्ष फागुनसम्म नवीकरण बापत ७५ अर्ब २० करोड रुपैयाँ संकmलन गरेका थिए ।

समीक्षा अवधिमा प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । गत वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या १ लाख ९४ हजार ३२७ वटाले घटेको छ । गत वर्षको फागुनसम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३८ लाख ७ हजार २४९ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।

नेपाल लाइफको वर्चश्व कायमै

समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले मात्रै २६ अर्ब ३० करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २६.६७ प्रतिशत हिस्सा हो ।

यसैगरी , यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनले समान १० अर्ब बढी रुपैयाँ प्रिमियम संकलन गरेको छ । फागुनसम्म नेशनलले ११ अर्ब ५६ करोड, हिमालयन ११ अर्ब १८ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब २३ करोड, एशियन लाइफले ५ अर्ब १८ करोड, सूर्यज्योतिले ५ अर्ब ७० करोड, मेट लाइफले ३ अर्ब ६३ करोड, आइएमई लाइफ २ अर्ब ८२ करोड, सन नेपाल लाइफ २ अर्ब ४२ करोड, रिलायन्स लाइफ २ अर्ब ६३ करोड, सिटिजन लाइफ ३ अर्ब ७२ करोड, सानिमा रिलायन्स ३ अर्ब ८० करोड र प्रभु महालक्ष्मीले २ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

लघुबीमाको हिस्सा नगन्य

समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ८ महिनामा जम्मा ५ करोड ८९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।

जसमा गार्डियन माइक्रो लाइफले १ करोड ५९ लाख, क्रेष्ट माइक्रो लाइफले ३ करोड ६१ लाख र लिबर्टी माइक्रो लाइफले ६९ लाख ३७ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चिराइतोको मूल्य प्रतिमन ४२ हजारसम्म पुग्यो, अरू पेशा छाडेर खेतीमा लाग्दै किसान Read Previous

चिराइतोको मूल्य प्रतिमन ४२ हजारसम्म पुग्यो, अरू पेशा छाडेर खेतीमा लाग्दै किसान

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, गोर्खा फाइनान्सको सर्वाधिक कारोबार Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, गोर्खा फाइनान्सको सर्वाधिक कारोबार