हाइड्रो र बीमा कम्पनीमा हकप्रदको बाढी, डेढदर्जन पाइपलाइनमा, कुनले कति ल्याउँदै ?

काठमाडौं । हाइड्रोपावर र बीमा कम्पनीहरूमा हकप्रद सेयरको बाढी लागेको छ । पूँजी वृद्धिका लागि नेप्सेमा सूचीकृत डेढ दर्जन बढी हाइड्रोपावर र बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई हकप्रद सेयर निष्काशन गर्न कडाइ गरेको छ । तर, हाइड्रोपावर र बीमा कम्पनीको हकमा सम्बन्धित निकायले लचकता अपनाउँदा यी क्षेत्रका कम्पनीहरूले धमाधम हकप्रद सेयर जारी गर्न थालेका हुन् ।

नेपाल प्राधिकरणले गत भदौमा चुक्ता पूँजी पुर्याउन बीमा कम्पनीहरूलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको थियो । त्यसपछि आधा दर्जन बीमा कम्पनीले हकप्रदबाटै पूँजी पुर्याउने योजना पेश गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको साढे २ अर्ब तोकेको छ । कमाएको नाफाबाट लाभांश दिएर चुक्ता पूँजी पुर्याउन नसक्ने भएपछि बीमा कम्पनीहरूले हकप्रदको साहारा लिएका हुन् ।

त्यस्तै, सरकारले हाइड्रोपावर कम्पनीहरूले अन्य आयोजनमा लगानी गर्नका लागि पूँजी जुटाउन र बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाको फाइदा उठाउँदै हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको बाढी ल्याएका छन् । चालु आर्थिक वर्षमा आधादर्जन बढी हाइड्रोपावरले हकप्रद जारी गरिसको छन् भने डेढ दर्जन कम्पनीले हकप्रद सेयर प्रस्ताव गरेका छन् । तीमध्ये झन्डै १ दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेका छन् ।

डेढ दर्जन हाइड्रोपावर हकप्रद ल्याउँदै

हाल नेप्सेमा सूचीकृत डेढ दर्जन हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने घोषणा गरेका छन् । तीमध्ये केहीले साधरणसभाबाट प्रस्ताव समेत पारित गरी प्रक्रिया अघि बढाएका छन् भने केहीले हकप्रद प्रस्ताव पारित गर्न साधरण सभा बोलाएका छन् । हकप्रद घोषणा गरेकामध्ये ८ कम्पनीले अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेका छन् ।

लिबर्टी इनर्जीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । लिबर्टीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यसले विद्युत् नियमन आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।

बरुण हाइड्रोपावरले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातका हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत (१ः६.६ सेयर अनुपात)मा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जोशीले प्रतिकित्ता १०० रुपैयाँ दरले २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्काशन गर्न आयोगबाट स्वीकृति पाई बोर्डमा आवेदन दिएको छ ।

त्यस्तै, खानीखोला हाइड्रोपावरले चुक्ता पूँजीको शतप्रतिश हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

त्यसैगरी, छ्याङ्दी हाइड्रोपावरले १०० प्रतिशत अर्थात् ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्ने भएको छ । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीले १०० प्रतिशत ( ९९ लाख कित्ता), आँखुखोला जलविद्युत्ले १५० प्रतिशत (१ करोड २० लाख कित्ता) र ङादी ग्रुप पावरले शतप्रतिशत बराबर १ करोड ८५ लाख १२ हजार ७९२.२३ कित्ता हकप्रद जारी गर्ने भएको छ । यी तीनै कम्पनीले पनि बोर्डमा आवेदन दिइसकेका छन् ।

हाल ३६ मेगावाटको माथिल्लो बलेफी ए जलविद्युत् आयोजना संचालन गरिरहेको बलेफी हाइड्रोपावरले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  त्यस्तै, पिपुल्स पावरले ५० प्रतिशत, रिभर फल्स पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् ।

यी बीमा कम्पनीले ल्याउँदै छन् हकप्रद

आधा दर्जन बीमा कम्पनीले हकप्रद सेयर जारी गर्ने घोषणा गरका छन् । जीवनतर्फ हालसम्म ३ कम्पनीले हकप्रद सेयर घोषणा गरेका छन् । सन नेपाल लाइफले गत वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर वितरणपछि २७ प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजी पुर्याउने योजना पेश गरेको छ ।

त्यस्तै, एशियन लाइफले ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि ४२ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५ प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेका छन् ।

त्यसैगरी, निर्जीवनतर्फ हालसम्म तीन कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । नेको इन्स्योरेन्सले २५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत र सानिमा जीआइसी इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

पोखरा-बागलुङ रुटमा विद्युतीय माइक्रोबस संचालनमा Read Previous

पोखरा-बागलुङ रुटमा विद्युतीय माइक्रोबस संचालनमा

हिमाल आरोहणको सिजन सुरू भएसँगै मन्थली-लुक्ला दैनिक उडान सुरू Read Next

हिमाल आरोहणको सिजन सुरू भएसँगै मन्थली-लुक्ला दैनिक उडान सुरू