बागलुङ । बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरि गण्डकी यातायात सेवा प्राली बागलुङले आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो ।
सुरुआती चरणमा दुई बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालीले पहिलो पटक बागलुङदेखि पोखराका लागि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
१ करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसी बताउँछन्। एउटा गाडीको मूल्य ५५ लाख रुपैयाँ रहेको उनको भनाइ छ । ‘इलेक्ट्रिक’ बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने उनी बताउँछन् । यसले यात्रुलाई पनि सहज यात्रा गर्न टेवा पुग्ने अध्यक्ष केसीले बताए ।
उनले भने, ‘प्रविधिको विकाससँगै अहिले विश्वमा धेरै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन्, हामीहरुले पहिलो पटक पोखरा–बागलुङ विद्युतीय माइक्रोबस सेवा सञ्चालन गरेका छौँ, सुरुआती चरणमा दुई बसबाट सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ, यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ, पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ, पेट्रोल र डिजेलमा खर्च हुने पैसासमेत जोगिनेछ, चार्जिङका लागि पनि व्यवस्थापन भइरहेको छ ।’
हाललाई बागलुङदेखि पोखरासम्मका लागि ४५० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि छुट्नेछ । अध्यक्ष केसीले विद्युतीय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए । जिल्लामा अधिकांश सवारीसाधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुले सास्ती भोग्ने गरेको जनाउँदै उनले त्यो अवस्था पनि अन्त्य गर्न सघाउ पुग्ने बताए ।