काठमाडौं । शिल्करोड चेम्वर इन्टरनेशनल कमर्सको आयोजनामा हिजोदेखि चीनको सियानमा शिल्क रोड व्यवसायिक सम्मेलन चलिरहेको छ ।
करिव पाँच दर्जन भन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त सम्मेलनमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष भवानी राणाले सहभागिता जनाएकी छिन् ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा ‘प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ’ विषयक विशेष शत्रलाई संवोधन गर्दै उनले समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरिन् ।
आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडि थुप्रै सम्भावना रहेको बताउँदै राणाले बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने स्पष्ट पारिन् ।
यद्यपी नेपाल भूपरिवेष्ठित मुलुक भएपनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको कारण आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरुसँग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एशियाबाट नेपालले फाइदा उठाउन सक्ने दावी गरिन् ।
दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्दै अध्यक्ष राणाले बीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिव ३ अर्ब जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औल्याइन् ।
भौगोलिक विकटता तथा अन्तर्राष्ट्रिय वजारसम्मको सहज पहुँचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसँग जोडिने सम्भावनाको ढोका खोलिदिएको उनले बताइन् ।
आज पनि नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी चीनबाटै रहेको स्पष्ट पार्दै नेपालमा लगानी गरिरहेका चिनियाँ कम्पनीहरू सिनो हाइडो, जेटटीई, चाइना थ्री गर्जेज कर्पोरेशन, हुवाये, टिवेट एयरलाइन्स, होङ्गसीले निकै राम्रो व्यवसाय गरीरहेको अन्तर्राष्ट्रिय समुदाय समक्ष जानकारी गराउँदै उर्जा, पूर्वाधार विकास, पर्यटन सहित अन्य सम्भावित क्षेत्रहरूलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रको रूपमा पहिचान गरेको स्पष्ट पारिन् ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तरगतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने समेत उनले स्पष्ट पारिन । पर्याप्त जनशक्ति तथा औद्योगिक विकासका लागि चाहिने आधुनिक प्रविधिको अभावका कारण नेपालले सस्तो श्रम शक्ति र यूवा जनसंख्याको वाहुल्यता रहेपनि अहिलेसम्म पनि अन्तराष्ट्रिय मूल्य श्रृंखलामा जोडिन नसकेको अध्यक्ष राणाले बताइन् ।
सडक, रेल, व्यापार सहजीकरणका लागि आवश्यक अन्य महत्वपूर्ण पूर्वाधार अभावका कारण विश्कै सर्वोत्कृष्ट पर्यटकीय क्षेत्र रहदा रहंदै पनि नेपालले पर्यटन लगायत नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म एकिकृत गर्न नसकेको अवस्थामा बीआरआई अन्तरगत पूर्वाधार विकास जस्तो होटल, एयरपोर्ट, सडक, रेलवे, केवल कार, सपिङ मल लगायतमा लगानी गरी नेपालको पर्यटन विकासबाट चीन सहित र वीआरआई मुलुकहरूले लाभ उठाउन सक्ने बताउँदै नेपालमा व्यापार तथा वैदेशिक लगानीलाई सहज बनाउन चीन तथा बीआरआई मुलुकहरूबाट बैंक शाखाहरू खोल्नु पर्ने उनको सुझाव छ ।
ई–कमर्सको भरपुर उपयोगबाट वाह्य संसारले हासिल गरीरहेको लाभमा नेपाललाई पनि जोडन अन्तरसीमा ई–कमर्सलाई बढावा दिनुपर्ने, बीआरआई अन्तरगत अन्तर्राष्ट्रिय सूचना संजालमा नेपाललाई जोडन सहयोग गर्नुपर्ने,गैर भन्सार अवरोधलाई हटाउनु पर्ने, नेपाली निर्यात प्रवद्र्धन गर्न चीनले उपलव्ध गराएको विशेष सहुलियत तथा शून्य भन्सार सुविधाको भरपुर उपयोग गर्नुपर्ने धारणा राखिन् ।
उनले नेपालको पूर्वाधार विकासमा बीआरआई अन्तरगत शिल्करोड कोष, एशियन पूर्वाधार विकास बैंक, चाइना इक्जिम बैंकको लगानी आकर्षण तथा उपयोगमा सहयोग गर्न पनि आग्रह गरिन् ।