काठमाडौं । पछिल्लो समय विभिन्न ब्राण्डका गाडीहरु कागजात प्रक्रिया पूरा नगरि ल्याएका कारण भन्सारमै जफत हुन थालेका छन् । नेपाल ल्याइएका विश्वका चर्चित र महंगा इलेक्ट्रिक र हाइब्रिड कारहरुले कागजात पुर्याउन नसकेका कारण भन्सार प्रक्रिया टुङ्ग्याउन नसकेका हुन् ।
एउटा टेस्ला, ६ वटा प्लगइन हाइब्रिड ज्यागुअर र ६ वटा आउडीको इलेक्ट्रीक कार इट्रोन भन्सारमा थन्किएका हुन् । अमेरिकन चर्चित कम्पनी टेस्लाको इलेक्ट्रीक कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको हो ।
उक्त आयातकर्ता कम्पनी र अमेरिकी इलेक्ट्रीक कार उत्पादक टेस्लाबीच कुनै आधिकारीक सम्झौता नभएको कारण उक्त गाडी भन्सारबाट छुट्न सकेको छैन ।
यसले त्यति ठूलो लगानी गरेर गाडी आयात गर्ने कम्पनीहरुले मुलुकमा विद्यमान सामान्य कानुनी व्यवस्थाको पनि किन हेक्का राख्न नसकेका होलान् भन्ने प्रश्न उठ्छ ।
‘महङ्गा गाडीहरु ल्याएर तुरुन्तै बेचेर करोडौं नाफा कमाइहालौं भन्ने सोच हुन सक्छ व्यापारीहरुको । तर, कानुनी व्यवस्था नै पूरा नगरी कानुनी राज भएको देशमा व्यवसाय गर्न पाईदैंन’, भन्सार स्रोत बताउँछ ।
तर, व्यवसायीहरुको भने आफ्नै दुखेसो छ । ‘सरकारले काम गरेर खानपनि नदिने भयो । कुनै समय कुन नियमबाट गाडी ल्याउँछ कुनै समय कुन । त्यसले हाम्रो लगानी डुब्ने अवस्थामा पुग्यो’, ज्यागुअरका आयातकर्ता किशोरवादे श्रेष्ठले भने ।
उनका अनुसार अब गाडी निर्माता कम्पनीले नेपालको लागि आधिकारीक डिलरको सम्झौता दिने छैन भने भन्सारमा आएका सबै गाडी छुट्ने अवस्था पनि छैन ।
आफूले विगत १६ वर्षदेखि ज्यागुअरका गाडी नेपाली बजारमा ल्याएर बिक्री वितरण गरिरहेको भएपनि अहिले सरकारले आफूलाई काम गर्न नदिएको उनको गुनासो थियो ।
ज्यागुअरको प्लगइन हाइब्रिड कार किशोर गियरले नेपाल ल्याएको हो । करिब १२ करोड मूल्यमा ल्याइएका ६ वटा एसयूभी भन्सारमा थन्किएको हो । त्यसको पनि उत्पादक कम्पनीले दिएको आधिकारीक डिलरको समयावधी सन् २०१७ मा ने सकिएकाले थप कागजात बुझाउन नसक्दा गाडी रोकिएको हो ।
भन्सार विभागको प्रशासनिक दक्षतामा केही प्रश्न उठाउने ठाउँ नभएको होइन । उदाहरणको लागि पहिलो चरणमा तीनवटा अउडीको इट्रोन ल्याएर बेचेको प्रिन्सा अटोमोवाइलले दोस्रो पटक ल्याएको गाडी रोकिएको छ ।
संयोग नै यस्तो रहेको छ कि अउडी र टेस्लाको नेपाल ल्याइएको दुबै कार बेलायतको जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको छ । जेम्सन कार्टर भारतीय मुलका राज वेदीले सञ्चालन गरेको दालचामलदेखि कारसम्म खुद्रा बिक्री गर्ने कम्पनी हो ।
पहिलो चरणमा भन्सार पास भएको गाडी दोस्रो चरणमा भने किन समातियो भन्ने प्रश्न पनि नउठ्ने होइन ।तर, विद्यमान कानुनी व्यवस्था भने आयातकर्ताहरुको पक्षमा छैन ।
नेपालमा नयाँ सवारीसाधन आयात गर्न निर्माता कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेको हुनु पर्छ । साथै, उत्पादक कम्पनीले आधिकारीक डिलर विस्तार गर्न सक्ने अधिकार दिएको कम्पनीबाट गाडी ल्याउन पाइन्छ । तर, यसरी गाडी ल्याउँदा उत्पादक कम्पनीले दिएको पत्र ल्याउनु पर्ने हुन्छ ।
सरकारले अनाधिकृत रुपमा आएका यस्ता गाडी सोझै जफत गर्न सक्ने भन्सार कानुन रहेको छ । लामो समयदेखि कागजपत्र संकलनको लागि कम्पनीलाई समय दिइएको भएपनि अबभने ति सवारीसाधन भन्सारले जफत गरि लिलाम बिक्री वा आफैँ प्रयोग गर्न सक्ने छ । यी गाडी जफत हुन्छ वा हुँदैनन् अबको केही दिनमा थाहा हुनेछ ।