अटोमोबाइल क्षेत्रमा स्थिर नीति ल्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अटोमोबाइल उद्योगको विकास गर्न स्थिर नीति ल्याउन सरकारसँग माग गरेको छ ।

बिहीबार नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी यस्तो माग राखेका हुन् ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुईपाँग्रे सवारी साधनहरूको एसेम्बलिङ्ग उद्योगहरू खुल्दै गएको र चारपाँग्रे एसेम्बलिङ्ग उद्योगहरू पनि खुल्ने क्रममा रहेको जानकारी गराउँदै अटो उद्योगको विकासका लागि स्थायी नीति ल्याउन आग्रह गरे ।

उनले सरकारको अस्थिर नीतिकै कारण अहिले अधिकांश अटोमोबाइल उद्यमी तथा व्यवसायीहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले गत फागुन २५ गते राजपत्र मार्फत एजेन्सी, संशोधन र एकीकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुँदाहरूमा द्धिविधा उत्पन्न भएकोले आवश्यक प्रष्ट पार्न मन्त्री भण्डारीलाई आग्रह गरे ।

यस्तै, नाडाका महासचिव सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको उत्थानका लागि सरकारलाई ८ बुँदे नीतिगत सुझाव दिएका थिए ।

नाडाले भन्सार महशुल स्थिर बनाउन, अन्तःशुल्कमा कम्तीमा १५ वर्ष छुट दिनुपर्ने व्यवस्था ऐनमै गर्नुपर्ने, स्पेयर पार्टस्को अवैध चोरी पैठारी भइरहेकाले आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था गर्नुपर्ने, लुब्रिकेण्टस उद्योग तथा ब्याट्री उद्योगहरूको स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने, नेपालमा उत्पादित स्पेयर पार्टस्, हेलमेट, ब्याट्री, लुब्रिकेन्टस् तथा टायरहरू निर्यात गर्दा छुट दिनुपर्ने व्यवस्था गर्नुपर्ने लगायत नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ ।

मन्त्री भण्डारीले राज्य व्यवसायीको साथमै रहकको बताए । उनले व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निरासालाई चिर्दै आशा जगाउने विश्वास व्यक्त गरे ।

उनले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग गर्ने र नेपालीहरूको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरूले पनि रोजगारी सिर्जना गर्न आग्रह गरे ।

 

अर्थमन्त्रीलाई कोरियाली राजदूतले भने-'नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं' Read Previous

अर्थमन्त्रीलाई कोरियाली राजदूतले भने-'नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं'

च्याम्पियन फूटवेयरको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय Read Next

च्याम्पियन फूटवेयरको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय