काठमाडौैं । सरकारले च्याम्पियन फुटवेयरको नाममा रहेको १० रोपनी जग्गा आफ्नो नाममा ल्याउने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चैत ९ गते उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।
शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो । कार्यालयले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको जनाएको छ ।
च्याम्पियनले मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति/स्वीकृतिबिना जग्गा आफ्नो नाममा नामसारी गरेको कार्यालयको ठहर छ ।
साविकको बाँसबारी छालाजुत्ता उद्योगको नाममा रहेको १० रोपनी सरकारी जग्गा च्याम्पियनले २०४४ सालमा आफ्नो नाममा ल्याएकाे थियो । प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरोले गरेको अनुसन्धानमा उक्त जग्गा प्रक्रिया नपुर्याइ हडपेको पाइएपछि सरकारले आफ्नो नाममा ल्याएको हो ।
सोही प्रकरणमा सीआइबीले माघ २४ गते व्यवसायी अरुण चौधरीलाई पक्राउ समेत गरेको थियो । त्यस्तै, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको बयान लिएको छ ।