काठमाडौं । सरकारी लगानीका सिमेन्ट उद्योगहरु घाटामा गएपछि सांसदहरुले चासो राखेका छन् । बिहीबार प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकका सांसदहरुले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको साग्र अवस्थाबारे छलफल गरेका हुन् ।
पछिल्लो समय यी दुई उद्योगहरु नियमित संचालन हुन सकेका छैनन् । कहिले कोइला किन्न नसक्दा, कहिले उपकरण बिग्रिने लगायत कारणले बेलाबेलामा बन्द हुँदै आएका छन् ।
सांसदहरुले निजी क्षेत्रको लगानीका सिमेन्ट उद्योग फस्टाउँदै जाने तर सरकारी वर्षेनी घाटामा गएकाले गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् ।
सांसद रमा कोइराला पौड्यालले निजी सिमेन्ट उद्योग फस्टाउँदा सरकारी भने किन घाटामा गएको भन्दै उद्योगमन्त्रीलाई प्रश्न गरेकी थिइन् ।
‘निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग फस्टाउँदै जाने, तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने, यस्तो कसरी हुन्छ ?, यसबारेमा सरकारले गम्भीर समीक्षा गर्नुपर्छ, सरकारले सञ्चालन गरेका उद्योग बन्द हुनु हुँदैन,’ उनले भनिन् ।
समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले राम्रोसँग सिमेन्ट उद्योग सञ्चालन गर्ने हो भने नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिए।
सांसद रणेन्द्र बरालीले राजनीतिक हस्तक्षेप र राज्यको उदासिनताका कारण सरकारी उद्योग धरासायी बन्दै गएको टिप्पणी गरे। सांसद सूर्यमान तामाङ दोङले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई उत्कृष्ट उद्योगका रूपमा विकास गर्न उद्योग र अर्थ मन्त्रालयबीच गम्भीर छलफल हुनुपर्नेमा जोड दिए ।
घाटा न्यूनीकरण गर्छौं : मन्त्री भण्डारी
समितिमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले व्यहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन, तर पनि यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनक नै छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन, सरकारले छिट्टै निर्णय गर्ने छ ।’
सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ । उनले सरकारले समृद्ध नेपालको आकाङ्क्षालाई पूरा गर्ने गरी द्रुतगतिमा काम गरिरहेको बताए ।
‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको विश्लेषण र भावी कार्यदिशा’ विषयमा अध्ययन गर्न गठित समितिले सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग दुवैलाई गाभेर नयाँ रुपमा सञ्चालन गर्न सकिने विषयमा विगतको बजेट वक्तव्यमा पनि उल्लेख भएको जनाउँदै त्यस सम्बन्धमा अध्ययन कार्य अघि बढाउन सुझाव दिएको छ ।