काठमाडौं । सेयर बजारमामा लगातार तेस्रो दिन गिरावट आएको छ । अघिल्ला दुई दिन झिनो अंकले घटेको नेप्से आज भने दोहोरो अंकले घटेको हो ।
सूचक घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८२ करोड बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा आइपुगेको छ । यसदिन ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये व्यापार बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।
आज माछापुच्छ्रे बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सर्वोत्तम सिमेन्ट र किसान लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।
बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।