धरान-इटहरी चार लेनको सडक कालोपत्र थालियो

सांकेतिक तस्वीर

धरान । कोशी राजमार्गको रानी-विराटनगर-इँटहरी-धरान सडक आयोजनाअन्तर्गत इँटहरी-धरान सडकमा पर्ने सेउती-पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो ।

कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताए । उनले भने, ‘नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।’

धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किमी सडक निर्माणमा ढिलाइ हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । उक्त सडक अस्तव्यस्त हुँदा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ ।

उक्त सडकखण्ड भत्काएर समयमा निर्माण नगर्दा सवारीसाधन दुर्घटना बढिरहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार उक्त सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटनामा भएकामा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा ८८ जना घाइते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा भएका २३ दुर्घटनामा तीन जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सम्झौता सकिएपछि म्याद थप्ने प्रक्रिया चलिरहेको रानी-विराटनगर-इँटहरी-धरान सडक आयोजना इटहरीका इञ्जिनियर अस्मिता सुवेदीले बताइन् । बाँकी काम चाँडै सकिने उनको भनाइ छ ।

रिडी पावरको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

रिडी पावरको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

विकास बैंक पनि पूँजी कोषको चर्को दबाबमा, यी ४ बैंकलाई कर्जा विस्तारमा समस्या Read Next

विकास बैंक पनि पूँजी कोषको चर्को दबाबमा, यी ४ बैंकलाई कर्जा विस्तारमा समस्या