सेयर बजार सुधार्ने सत्ता गठबन्धनको संकल्प, यस्ता छन् साझा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धले आफ्नो न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बीच सत्ता गठबन्धनका पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेका हुन् ।

वर्तमान सरकारमा सहभागी हामी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प प्रस्तुत गरेका हुन् ।

गठबन्धनले विद्यमान आर्थिक शिथिलता अन्त्य गर्नुलाई आफ्नो पहिलो प्राथमिकतामा राखेकाे छ। । अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने उनीहरूकाे संकल्प छ ।

सुस्त कर्जा प्रवाह र पूँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार–मैत्री नीतिगत सुधारमा बाधा पुर्याउने विभिन्न कानुनहरू संशोधन गर्ने नीति राखेका छन् ।

यस्तै, सेयर बजारलाई नीतिगत सुधारमार्फत् चलायमान बनाउने, सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्च बीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने संकल्प गरेका छन् ।

यसैगरी, कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयसँग सम्बन्धित विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी माथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने,’ साझा संकल्पमा भनिएको छ ।

 

पर्यटक बढाउन पोखराका होटेलमा २० प्रतिशत छुट अफर Read Previous

पर्यटक बढाउन पोखराका होटेलमा २० प्रतिशत छुट अफर

सानिमा बैंकद्धारा दुर्घटनमा परेकालाई १० लाख बीमा रकम हस्तान्तरण Read Next

सानिमा बैंकद्धारा दुर्घटनमा परेकालाई १० लाख बीमा रकम हस्तान्तरण