काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । गत बुधबारदेखि लगातार ४० अंकले घटेको नेप्से आज ३ अंकले फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार ५० करोडले घटेर २ अर्ब ८८ करोड रूपैयाँमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा पुगेको छ । यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । विकास बैंक समूह सर्वाधिक १.३० प्रतिशतले बढेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड १४ लाख रुपैयाँ बढिको २ लाख ९२ हजार ३८० कित्ता सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पाँचथर पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।