यसरी हुन्छ इन्साईडर ट्रेडिङ, लगानीकर्ता मारमा, नयाँ कानुन ल्याउँदै बोर्ड

काठमाडौं । कुनै पनि समाजमा चोरी गर्नु सम्मानित काम होइन । नेपालमा पनि कसैको बगली मारेको, घर वा पसल फोरेको प्रमाणित भए कानुन बमोजिम कारवाही हुने नै गरेको छ । त्यस्ता चोरहरुलाई सर्वसाधारणले भेटेमा त झन् ‘रगत छाद्ने गरि’ कुटेको हामीले देखेकै छौं ।

 

तर, सेयर बजारमा भने फरक अवस्था छ । गैरकानुनी ढंगबाट कम्पनीका सूचनाहरुमा पहुँच बनाएर वा कम्पनीका उच्च अधिकारीहरु आफैंले ब्यक्तिगत स्वार्थको लागि त्यस्ता सूचनाहरु चुहावट गरेर र त्यसैका आधारमा अनेक हल्ला फैलाएर सर्वसाधारणको पैसा चोर्दा उनीहरु यहाँ सम्मानीत हुने गरेका छन् ।

 

अनी उदेक लाग्दो कुरा त अझ के छ भने अन्य चोरहरुलाई रगत छाद्ने गरि कुट्ने सर्वसाधारण सेयर बजारका चोरहरुलाई भने जुरुक्क उठेर नमस्ते गर्छन । र, उनीहरुको सेयर बजारबाट पैसा कमाउने ‘अद्धितिय क्षमता’ र ‘स्मार्टनेस’ को परख गर्छन् ।

 

धितोपत्र बोर्ड ऐनले यस्तो इन्साइडर ट्रेडिङ्गलाई ठूलो अपराध मानेको छ । बोर्डको ऐनमा इन्साइडर ट्रेडिङ्ग गरेमा विगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुबै हुन सक्ने प्रस्ट प्रावधान रहेको छ ।

 

प्रशासन र सेयर बजारको नियामक निकाय पनि यस्ता चोरहरुलाई पक्रने काममा उदासिन देखिन्छ । यो लेख सेयर बजारमा हुने चोरी, जसलाई प्राविधिक भाषामा ‘इन्साइडर ट्रेडिङ’ पनि भनिन्छ, मा केन्द्रित छ ।

 

चोरीको उदाहरण १
सेयर बजारमा सामान्य सहभागिता जनाउनेले पनि थाहा पाएकै कुरा हो, जनता बैंकका तत्कालिन अध्यक्ष गुरुप्रसाद न्यौपानेले आफु बोर्डमा हुदाँहुँदै जनता बैकको सेयर आफ्नी श्रीमती, छोरा, बुहारी, नाती र आफ्ना अन्य कम्पनीको नाममा किनेका थिए ।

 

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐनका अनुसार बोर्डमा रहेका व्यक्ति र उनका एकाघरका व्यक्तिले उक्त कम्पनीको नाममा सेयर खरिद बिक्री गर्न पाउँदैनन् ।

 

अझ, आफु र आफ्ना परिवारका सदस्यहरु सम्मिलित फर्म, कम्पनी वा संस्थाले पनि बोर्डमा रहँदा र बोर्ड छाडेको १ वर्षसम्म उक्त कम्पनीको सेयर खरिद बिक्री गर्न पाउँदैनन् । यसो गर्नुलाई बैकिङ्ग कसुरको रुपमा लिइन्छ र किनिएको उक्त सेयर जफत हुने व्यवस्था छ ।

 

जनता बैंकले माछापुच्छ्रे बैकसँग मर्जरका लागि सम्झौता गर्नु अघि यी कारोबारहरु भएका थिए । उक्त मर्जरको सम्झौता यही कारण माछापुच्छ्रे बैंकले एकतर्फी रुपमा रद्द गरेको थियो ।

 

धितोपत्र बोर्ड ऐनले यस्तो इन्साइडर ट्रेडिङ्गलाई ठूलो अपराध मानेको छ । बोर्डको ऐनमा इन्साइडर ट्रेडिङ्ग गरेमा विगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुबै हुन सक्ने प्रस्ट प्रावधान रहेको छ ।

 

तर, न्यौपानेले केही समय अगाडिनै आफ्नी श्रीमतीसँग पारापाचुके भएको तथा छोरासँग अंशबन्डा भएको कागज पेश गर्न सफल भई कारबाही तथा दण्ड सजायबाट बचेका थिए । यो त सतहमै आएको उदाहरण मात्र हो । यस्ता कार्य तथा घटना त नेपाली सेयर बजारमा दिनदिनै हुने गरेको एक ब्रोकर बताउँछन् ।

 

उदाहरण २
कथित ठूला लगानीकर्ताको पहुँच कम्पनीको बोर्ड तथा उच्च व्यवस्थापनमा हुने गर्छ, जसको सहयोगमा उनीहरुले सजिलै गोप्य सुचना प्राप्त गर्छन् । साना लगानीकर्ताको न न पहुँच हुन्छ न मनग्य पुँजी नै हुन्छ ।

 

पछिल्लो समय कथित ‘बिग मर्जर’को हल्ला चल्न थालेपछि कुन बैंककोसँग मर्ज हुने भनेर अड्कलबाजीको खेल चल्न थालिसकेको छ । र, यही अड्कलबाजीको खेलमा सूचनामा पहुँचको दुरुपयोग गर्दै ‘तरमार्न’ ठूला भनिने लगानीकर्ताहरु सलबलाउन थालिसकेका छन् ।

गत जेठ १४ गते रिलायन्स फाइनान्सको सेयर मूल्य अचानक १० प्रतिशतले बढ्यो । गत वर्षको बोनसका लागि बुक क्लोज भएको भोलिपल्ट नै यति धेरै मूल्य बढ्नुमा प्राइम कमर्सियल बैकसँग मर्ज हुँदैछ भनि चलाइएको हल्ला नै मुख्य कारण थियो ।

 

त्यस्तै, कन्काई विकास बैंकको सेयर मूल्यमा पनि ठूलो इन्साइडर ट्रेडिङ्ग भएको देखिन्छ । गत जेठ ९ गते प्रतिकित्ता १४० रुपैंयाँको हाराहारीमा चलिरहेको सेयर जेठ २१ गते १९६ रुपैंयाँ प्रतिकित्ता पुगेको थियो । उक्त कम्पनीको सेयर मूल्यले आठ दिनसम्म रकेटको जस्तो उडान लिएको थियो ।

 

सेयर संख्या पनि ३ सय कित्ताबाट एकै दिन ७६ हजार कित्तासम्म कारोबार भएको देखिन्छ । कन्काई विकास बैंकले ८ दिनमा के त्यस्तो प्रगति गर्‍यो र सेयरले त्यस्तो छलाङ मार्‍यो ? सेयर मूल्यमा एक साता मै ४० प्रतिशतको बृद्धि ?

 

केही सीमित व्यक्तिहरुलाई थाहा थियो कि कन्काई विकास बैैंक चाँडै नै प्राईम कमर्सियल बैकसँग मर्ज हुँदैछ भन्ने कुरा । र, स्वाप रेसियो पनि ७० प्रतिशत भन्दा माथि हुनेछ भनेर उनीहरुलाई थाहा थियो ।

प्राइमको उक्त दिनको अन्तिम मूल्य प्रति कित्ता ३०२ रुपैेंयाँ थियो । मानौ, कन्काईको प्रति कित्ता १९६ रुपैयाँको सेयरलाई ७० प्रतिशतको स्वापमा रेसियो प्राप्त भएमा प्रति सेयर १५ रुपैंयाँ फाइदा हुने अवस्था थियो ।

 

यो त अन्तिम दिनको अन्तिम मूल्यको आधारमा गरिएको चर्चा मात्र हो । यदी उसले शुरुदेखि नै कन्काईको सेयर खरिद गर्दै आएको रहेछ भने उसको औसत मूल्य १७५ मात्र रहनेछ ।

 

यसमा सबभन्दा धेरै खरिद भएको देखिन्छ ५८ नम्बरको ब्रोकरबाट । त्यहाँ १०९ वटा कारोबारबाट ८१ हजार ७० कित्ता सेयर कारोबार भएको थियो ।

 

इन्साइडर ट्रेडिङ अर्थात् ‘चोरी’
कम्पनीका विभिन्न गोप्य सूचनाहरु केही निश्चित व्यक्तिहरुसँग रहेको हुन्छ । उनीहरुले ती सूचनाहरु सार्वजनिक हुनुभन्दा अघि कसैलाई पनि बताउने छैन भनेर सपथ खाएका हुन्छन् । यो उनीहरुको नैतिक र कानुनी बाध्यता हो ।

 

नेपाली पुँजी बजारमा हाकाहाकी इन्साइडर ट्रेडिङ भईरहेको छ । साना र सर्वसाधारण लगानीकर्तालाई ‘गुमराह’मा पारेर तिनको ‘रगत चुस्ने काम’ भइरहेको छ ।

 

यद्यपी पैसाको लोभमा अन्धो भएर वा नैतिक रुपमा स्खलित भएर र देशको फितलो कानुनको फाइदा उठाउँदैं उनीहरुले ती महत्वपूर्ण सूचना चुहावट गर्छन् र आफु र आफ्ना नजिकमा मानिसहरुलाई फाइदा पुर्याउने गरि सेयर बजारलाई प्रभावित पार्ने गरेका छन् ।

 

सेयर बजारमा सूचिकृत भएका कम्पनीका गोप्य र सार्वजनिक नभइसकेका सुचनाहरु चुहावट गर्नु अनैतिक र गैरकानुनी काम हो । यस्तै सूचनाका आधारमा सेयर खरिद वा बिक्री गरेर आफु र आफु नजिकका ब्यक्तिहरुलाई फाइदा गराउने कार्य नै इन्साइडर ट्रेडिङ हो ।

 

नेपाली पुँजी बजारमा हाकाहाकी इन्साइडर ट्रेडिङ भईरहेको छ । साना र सर्वसाधारण लगानीकर्तालाई ‘गुमराह’मा पारेर तिनको ‘रगत चुस्ने काम’ भइरहेको छ ।

 

उदाहरणको लागि कुनै कम्पनीले भोलीपल्ट बोनस सेयर घोषणा गर्दैछ भने अघिल्लो दिन अचानक उक्त कम्पनीको सेयर कारोबार र मूल्यमा वृद्धि हुन्छ । लामो समयसम्म कारोबारको संख्या र मूल्य स्थिर रहेको उक्त सेयरमा एकाएक उछाल आउनुमा त्यहाँ सूचनाको चुहावट भएको तथ्य सजिलै पुष्टि हुन्छ ।

 

यस्ता सूचनाहरु स्रोतहरु कम्पनीको बोर्ड, प्रमुख कार्यकारी, कम्पनी सचिव वा अन्य माथिल्लो तहका कर्मचारी हुने गर्छन् ।

 

यदि नियामकले चाहने हो भने कुन सेयर ब्रोकरबाट कति संख्यामा उल्लेख्य र शंकास्पद ढंगले सेयर कारोबार भयो भनेर जान्न कुनै अनुसन्धान गरिरहनु नै पर्दैन ।

 

नेपाल स्टक एक्चेन्जको ‘फ्लोर सीटमा’ गएर हेरे तुरुन्त पत्ता लागि हाल्छ । अब कसले कुन सेयर कति संख्यामा खरिद गर्‍यो भनेर धितोपत्र बोर्डले सम्बन्धित ब्रोकरलाई सोधेमा तीनपुस्ते नामावली तुरुन्त उपलब्ध हुनसक्छ ।

 

यतिको सानो तथ्य पत्ता लगाउन सामान्य मानिसलाई त कुनै आईतबार कुर्नु पर्दैन भने अधिकार प्राप्त धितोपत्र बोर्डलाई केले रोकेको छ ? के त्यती कामका लागि कसैले गएर धितोपत्र बोर्डमा उजुरी नै दिनु पर्ने हो त ?

 

के गर्दैछ नियामक
नेपाली सेयर बजारको ‘क्यान्सर’को रुपमा ‘इन्साइडर ट्रेडिङ’ रहेको छ । यसले केही सीमित मानिसहरुले मात्र बजारबाट उल्लेख्य फाइदा कमाउने र सर्वसाधारण मर्कामा पर्ने अवस्था छ । सेयर बजारको विकासको लागि आम लगानीकर्ताको बिश्वास पनि महत्वपूर्ण हुन्छ । त्यसैले इन्साइडर ट्रेडिङ रोक्नका लागि नियामकले अग्रसरता देखाउनु पर्छ ।

 

यस बिषयमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि भन्छन् ‘यस्ता क्रियाकलाप छँदैं छैनन् भन्ने अवस्था पनि छैन, यत्ति नै छ भनेर ‘ट्याक’ गर्ने प्रविधि पनि हामीसँग छैन । विकसित बजारमा पनि यो ठूलै समस्या हो ।’

 

यद्यपी यसको नियन्त्रणको लागि नयाँ नियमावली बोर्डले बनाइरहेको भन्दै गिरि भन्छन् ‘अन्तर्राष्ट्रिय अभ्यास र ‘आइएसओ’को नियमावलीको आधारमा हामी यो बनाउन लागेका हौं ।’

 

तर, यो नियमावली आउँदैंमा यस्ता काम बन्द हुन्छन् भन्ने होइन । यसको नियन्त्रणको लागि सूचनाको ‘डाटा ब्याङक’ हुनु पर्छ ।
‘कम्पनीमा सूचनाको पहुँच राख्ने को–को इन्साइडर हुन् त ? सीइओ, अध्यक्ष, कम्पनी सचिव लगायत होलान् । तिनीहरु र तिनका आफ्न्त र परिवारको कारोबार सिस्टमले नै ट्याक गर्ने र ‘अर्लट’ गर्ने प्रणालीको विकास आवश्यक छ’ गिरिले चाणक्य पोष्टसँग भने ।

 

अब सेयर कारोबार अनलाईन प्रणालीमा गइसकेको हुनाले यस्तो सूचना राख्न सम्भव हुने अवस्था आएको छ । यसका लागि नेप्सेले त्यस्तो प्रावधानको विकास गर्न सक्छ । नियमावली र डेटा ब्याङकको संयुक्त प्रयासले यसमा नियन्त्रण गर्न सकिन्छ ।

 

सेयर बजारका बारे केही कुरा
सेयर बजार पुँजीवादी अर्थ ब्यवस्थाको एक खाले भौतिक अभिब्यक्ति हो । नेपालले अवलम्बन गरेको अर्थ ब्यवस्थामा पनि पुँजी बजारको अपरिहार्यता स्थापित भइसकेको छ ।

 

औद्योगिक र पूर्वाधार विकासको लागि पुँजी जुटाउन पुँजी बजारको महत्व विभिन्न जलविद्युत आयोजनाहरुले पुँजी बजारबाट पुँजी उठाएबाट नै पुष्टि हुन्छ ।

 

पुँजी बजारबाट पुँजी नउठाई अन्य संस्थाहरुबाट ऋण उठाएर आयोजना निर्माण गर्नु पर्दा विभिन्न जलविद्युत आयोजनाहरुले ती ऋण दिने संस्थाहरुसँग अवान्छित ( जस्तो, कर्मचारीलाई आयोजनाको सेयर दिनुपर्ने ब्यवस्था) सम्झौता गर्नुपरेको इतिहास ताजै छ ।

 

त्यसैले आर्थिक विकासको खुड्किलो उक्लन प्रयास गर्दै गरेको नेपालले पुँजी बजारलाई विशेष प्राथमिकताको क्षेत्रमा राख्नु आवश्यक छ । यसका लागि अनलाइन ट्रेडिङ, डिम्याट, ब्रोकरको बिस्तार जस्ता क्षेत्रहरुमा सुधार भएका पनि छन् ।

 

यसको अर्थ नेपाली पुँजी बजार पहिलेको भन्दा आधुनिक, सहज र छरितो भएकोमा दुई मत छैन । यसको श्रेय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज तथा सिडिएसलाई नै जान्छ ।

 

नेपालमा पुँजीबजारको सुरुवात नेपाल स्टक एक्चेन्जको हलमा ‘ओपन क्राई सिस्टम’बाट भएको हो, जुन आजको दिनमा आइपुग्दा आफ्नै घर वा कार्यालयमा बसेर आफ्नै हातले रोजी रोजी सेयर खरिद बिक्री गर्न सकिने अबस्थामा पुगिसकेको छ ।

 

सेयर खरिद बिक्रीमा कागजी सर्टिफिकेटको चलन हराएको त दुई तीन वर्ष नै भईसक्यो । अब सेयर खरिद बिक्री पछि हुने आर्थिक लेनदेन पनि अनलाईनबाट नै गर्न सकिने अवस्था आउन लागिसकेको छ ।

 

यसको अर्थ नेपाली पुँजी बजार पहिलेको भन्दा आधुनिक, सहज र छरितो भएकोमा दुई मत छैन । यसको श्रेय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्चेन्ज तथा सिडिएसलाई नै जान्छ ।

 

तर, यो क्षेत्रले छलाङ लगाउन वा गुणात्मक फड्को मार्नका लागि धेरै भन्दा धेरै लगानीकर्ता बजारमा पस्नु र पसेका लगानीकर्ताले यो क्षेत्रलाई आफ्नो पैसा लगानी गर्नका लागि उपयुक्त र विश्वसनिय क्षेत्रका रुपमा विश्वास गर्न जरुरी हुन्छ ।

 

यसका लागि यहाँ उपस्थित सबै लगानीकर्ताले समान हैसियतमा लगानी गर्न पाउँछन् र पैसा वा पहुँचको आधारमा कसैले पनि बजारबाट अनाधिकृत नाफा कुम्ल्याउने अवस्था छैन भनेर सबैलाई प्रत्याभुत गराउनु अत्यावश्यक छ ।

 

त्यसैले बजारसँग सम्बद्ध सबै निकायहरुले बजार बढ्दा वा घट्दा सामान्य विज्ञप्ती जारी गरेर बस्नुभन्दा केही नीतिगत छलाङ लगाउन र सर्वसाधारणको चेतना उकास्नमा नै केन्द्रित हुनुपर्छ ।

लक्ष्मी बैंकको भिसा कार्ड डिजाइन कम्पिटीसन Read Previous

लक्ष्मी बैंकको भिसा कार्ड डिजाइन कम्पिटीसन

‘पर्यटक प्रहरी मोबाइल एप’ अर्काे हप्ता सार्वजनिक हुने Read Next

‘पर्यटक प्रहरी मोबाइल एप’ अर्काे हप्ता सार्वजनिक हुने