ऋणको भारीले थिचिँदै सरकार, ८ महिनामा ब्याज मात्रै तिर्‍यो साढे ४९ अर्ब

काठमाडौं । सरकार ऋणको भारीले थिचिँदै गएको छ । आम्दानीले खर्च धान्न नसक्ने भएपछि वर्षेनी खर्बौं ऋण लिँदा सरकारको दायित्व थपिँदै गएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिना (साउन-फागुन)मा मात्रै सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ । यससँगै सरकारको कुल ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सार्वजनिक २१ खर्ब ६९ अर्ब ४० करोड रुपैयाँ थियो ।

सरकारको कुल ऋणमध्ये आधाभन्दा धेरै बाह्य ऋण रहेको छ । फागुनसम्म आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड र बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

नेपालको सार्वजनिक ऋणको हिस्सा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४४ प्रतिशत पुगेको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।

८ महिनामा ब्याज मात्रै तिर्यो साढे ४९ अर्ब

सार्वजनिक ऋण बढेसँगै सरकारले तिनुपर्ने दायित्व पनि वर्षेनी थपिँदै गएको छ । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीका लागि सरकारले पूँजीगत खर्चभन्दा धेरै रकम खर्चिनु पर्ने बाध्यता भएको छ ।

फागुनसम्म सरकारले ऋणको साँवा र ब्याज तिर्न मात्रै १ खर्ब ७५ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ । जसमा ब्याजबापत मात्रै ४९ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । ८ महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा ४३ अर्ब ६७ करोड र बाह्य ऋणको ब्याज भुक्तानीमा ५ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ ।जबकि यस अवधिमा सरकारले ८३ अर्ब रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ ।

यस अवधिमा सरकारले सवा १ खर्ब रुपैयाँ ऋणको साँवा तिरेको छ । फागुन मसान्तसम्म १ खर्ब २६ अर्ब ३ करोड साँवा भुक्तानीमा गरेकाे छ । कार्यालयको तथ्यांक अनुसार आन्तरिक ऋणको साँवा १ खर्ब २ अर्ब र वाह्य ऋणको साँवा २३ अर्ब ६ करोड रुपैयाँ भुक्तानी गरेकाे हाे ।

१० वर्षमा साढे ४ गुणाले बढ्यो सरकारी ऋण

आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण रू ५ खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८.५१ प्रतिशत बराबर थियो । पछिल्लो करिब १ दशकमा नेपालको सार्वजनिक ऋण साढे चार गुणाले बढेको छ भने जीडीपीमा ऋणको अनुपात दोब्बरले बढेको छ ।

पछिल्लो ५ वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण रू ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो ।

भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा रू ९ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा रू १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६/७७ मा रू १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७/७८ मा रू १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८/७९ सम्ममा रू २० खर्ब १३ अर्ब २९ करोड र आव २०७९/८० सम्ममा २१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको थियो ।

प्रतिव्यक्ति हिस्सा झन्डै ८२  हजार पुग्यो

सार्वजनिक ऋणको हिस्सा प्रतिव्यक्ति झन्डै ८२ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना छ । सो अनुसार कुल ऋण भाग लगाउँदा प्रतिव्यक्ति हिस्सा ८१ हजार ८८९ रुपैयाँ पुगेको हो ।

घोराहीलाई उछिन्दै शिवम् बन्यो महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी Read Previous

घोराहीलाई उछिन्दै शिवम् बन्यो महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी

सुन काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ Read Next

सुन काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ