काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ४ जना वरिष्ठ अनुसन्धान कर्तालाई ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरेको छ ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत वरिष्ठ अनुसन्धानकर्ता प्रा. डा. परशुराम मिश्र, प्रा. डा. विद्या श्रेष्ठ, डा. श्याम प्रसाद डुम्रे र डा. प्रतिभा पाण्डेलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको छ । पुरस्कारको राशि प्रति व्यक्ति संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत व्यक्तिहरुलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले एक समारोहबीच पुरस्कार प्रदान गरे । सो कार्यक्रममा नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडयालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरि यस क्षेत्रको विकासमा योगदान पुपुर्याएकोमा धन्यवाद ज्ञापन गरे ।
नास्टको उक्त समारोहमा जम्मा २६ अनुसन्धानकर्ताहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित वैैज्ञानिक तथा प्राज्ञहरुको समूहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ ।