काठमाडौं । सेयर बजारले लय समात्ने संकेत देखाएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजार गतसातादेखि सुधार उन्नमुख देखिएको छ ।
लगातार बजार उकालो लागेको आज चौथो दिन हो । गतसाता पछिल्लो तीन दिनमा २० अंकले बढेको बजार आज करिब साढे ३ अंकले बढेको छ ।
पछिल्ला चार दिन लगातार बजार बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । बढ्दो बजारमा लगानीकर्ता माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको सेयरमा झुम्मिएका छन् ।
सेयर बजार मापक सूचक नेप्से ३.४५ अंकले बढेर ११३५.३७ विन्दुमा पुगेको छ । आज १७१ कम्पनीको २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ८७ हजार ७३९ कित्ता सेयर किन बेच भएका छन् ।आज समग्र बजार पूँजीकरण ४ खर्बले बढेर १४ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।
कारोबार भएका १२ वटा समूहमध्येमा ६ समूहको सूचक उकालो लागेका छन् भने बाँकी ६ वटै समूहको सूचक ओरालो झरेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ११.६४ अंकले घटेको छ भने अन्य समूहको सूचक सबैभन्दा धेरै १९.४७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड १३ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज कञ्चन डेभ्लपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशतले बढेको छ भने नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ३.८४ प्रतिशतले घटेको छ ।