काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बिहीबार २७ अंकले घटेको नेप्से आज पनि १० अंकले घटेको हो ।
आइतबार नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा आइपुगेको छ । यसदिन ३०४ कम्पनीको ३ अर्ब ३८ करोड रुपैयाँ बढीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । होटल समूह सर्वाधिक १.५६ प्रतिशतले घटेको छ भने विकास बैंक समूह ०.८२ प्रतिशतले बढेको छ ।
आज सिमेन्ट कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । शिवम् सिमेन्टको साढे ४१ करोड र सोनापुर सिमेन्टको २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज विन नेपाल लघुवित्तका सेयरधनीले सर्वाधिक ७.८३ प्रतिशत गुमाएका छन् ।