साढे ७ प्रतिशतसम्म झर्‍यो बैंकको बेसरेट, यी हुन् सस्तोमा ऋण पाइने बैंक

काठमाडौं । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) २० महिना यताकै सस्तो भएको छ । बैंकहरूले चालु आर्थिक वर्षको कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई बेसरेट सस्तिएको हो ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पछिल्लो महिना (फागुनको) तथ्यांक अनुसार औसत बेसरेट ९.२६ प्रतिशतमा झरेको छ । यो २०७९ असार यताकै कम हो । पछिल्लो डेढ वर्षमा बैंकहरूको बेसरेट औसतमा डेढ प्रतिशतभन्दा धेरैले घटेको छ ।

२०७९ पुस मसान्तमा वाणिज्य बैंकहरूको औसत बेसरेट ३ वर्ष यताकै उच्च १०.७८ प्रतिशत पुगेको थियो । सोबेला केही बैंकको बेसरेट झन्डै १२ प्रतिशतसम्म पुगेको थियो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले चालु वर्षको कात्तिकदेखि महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्लो ६ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७९ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले एकल अंकमा आइपुगेको हो ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । बैंकमा पैसा थुप्रिँदा पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १३/१४ प्रतिशतमा झरेको छ ।

केही बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतभन्दा कममै ऋण दिन थालेका छन् । यद्यपि, बेसरेट उच्च भएकाले अझै पनि आधादर्जन बढी बैंकले चाहेर पनि १० प्रतिशतभन्दा तलको ब्याजदरमा कर्जा दिन सक्ने अवस्था छैन ।

अहिले पनि बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ भने कर्जाको माग बढ्न सकेका छैन । प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम छ । अधिक तरलता भएपछि बैंकहरूले स्थायी तरलता सुविधा अन्तर्गत ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा पैसा राख्न बाध्य भएका छन् । अहिले पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेकाले आगामी दिनमा पनि बैंकहरूले निक्षेपको ब्याजदर अझै घटाउने देखिन्छ । यसले आगामी दिनमा अझै बैंकको बेसरेट पनि थप घट्न गई कर्जाको ब्याजदर पनि घट्ने देखिन्छ ।

साढे ७ प्रतिशतसम्म झरयो बेसरेट

वाणिज्य बैंकको बेसरेट साढे ७ प्रतिशतसम्म झरेको छ । विगतमा महँगो निक्षेप नउठाएको विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ७.५२ प्रतिशतमा झरेको छ । हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये चार्टर्ड सबैभन्दा कम बेसरेट हुने बैंक हो ।

अहिले बैंकहरूको औसत बेसरेट ९.२६ प्रतिशत रहे पनि चार्टर्डको सोभन्दा पौने २ प्रतिशत सस्तो रहेको हो । बेसरेट सस्तो भएकाले चार्टले सबैभन्दा सस्तो ब्याजदरमा ऋण दिन सक्छ ।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको पनि बेसरेट ८ प्रतिशतभन्दा कम छ । यसको बेसरेट ७.९२ प्रतिशत मात्रै छ । अहिले २० मध्ये ८ बैंकको बेसरेट औसतभन्दा कम रहेको छ भने १२ बैंकको औसतभन्दा माथि रहेको छ ।

जसमा विगतमा महँगोमा निक्षेप उठाएका हिमालय र प्राइम कमर्शिल बैंकको बेसरेट सबैभन्दा महँगो रहेको छ । अहिले पनि यी बैंकको बेसरेट १० प्रतिशत माथि छ ।

कुन बैंकबाट पाइन्छ सस्ताे ब्याजदरमा ऋण  ?

बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

बेसरेट अनुसार चार्टर्ड र राष्टिय वाणिज्य बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छन् । यी बैंकले न्यूनतम साढे ८ देखि अधिकतम १३ प्रतिशतमा ऋण दिन सक्छन् ।

त्यस्तै, औसभन्दा कम बेसरेट भएका एभरेष्ट, नेपाल, नबिल, इन्भेष्टमेन्ट र सिद्धार्थ बैंकले पनि तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण दिन सक्छन् । यी बैंकको बेसरेट ९ प्रतिशत हाराहारीमा रहेकाले चाहेमा एकल अंकको ब्याजदरमै ऋण दिन सक्छन्

कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स, प्राइम कमर्शियल र हिमालयन बैंक भने महँगो बेसरेट भएका बैंकमा पर्दछन् । यी बैंकको बेसरेट १० प्रतिशत माथि छ । यी बैंकबाट ऋण लिँदा कर्जाको ब्याजदर १५ प्रतिशतसम्म पर्दछ ।

 

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड Read Previous

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड

आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने Read Next

आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने