दुई दिनमै तामाकोशीको ६६ करोडको सेयर किनबेच, किन बढ्यो ह्वात्तै आकर्षण ?

काठमाडौं । अपर तामोकोशी हाइड्रोपावरको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । यस साताको दुई दिनमै कम्पनीको ६६ करोड रुपैयाँ बढिको सेयर किनबेच भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार र बिहीबारमा मात्रै कम्पनीको ६६ करोड ४३ लाख ५६ हजार ७२५ रुपैयाँ बराबरको ३६ लाख १४ हजार ९११ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार साढे १५ करोडको ८ लाख ४६ हजार र बिहीबार ५० करोड बढीको २७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।

विगत २ महिनादेखि औसतमा दैनिक ५० हजार हाराहारी कित्ता मात्रै कारोबार हुँदै आएको कम्पनीको पछिल्ला दुई दिनमा भने लाखौं कित्ता कारोबार भएको हो ।

किन बढ्यो लगानीकर्ताको आकर्षण ?

कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित हुनुको प्रमुख कारण हो मूल्य इतिहासकै सस्तो हुनु । २०७५ पुस २९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य विगतमा ९०० रुपैयाँ माथि पुगेको थियो । बिहीबार घटेर इतिहासकै न्यून १७० रुपैयाँसम्म आएको थियो । मूल्य निकै सस्तो भएपछि लगानीकर्ताले बिक्रीमा आएजति सबै सेयर उठाएका हुन् ।

यसैसाता नेप्सेमा कम्पनीको १०० प्रतिशत अर्थात् १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । हकप्रद सूचीकृत हुन अघि पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ माथि थियो । हकप्रद सूचीकृत पछि आपूर्ति दोब्बरले बढ्दा बिक्री चाप ह्वात्तै बढ्यो । जसकारण बुधबार कम्पनीको सेयर मूल्यमै नेगेटिभ सर्किट लागेको थियो । १० प्रतिशतले घटेर कम्पनीको सेयर मूल्य १८३ रुपैयाँमा आएको थियो । मूल्य निकै सस्तो भएपछि बिहीबार खरिदकर्ता हाबी हुँदा कम्पनीको एकैदिन ५० करोड कारोबार भएको हो ।

हाल कम्पनीको वित्तीय अवस्था कमजोर छ । अझै केही वर्ष लाभांश दिनसक्ने अवस्था छैन । तर, कम्पनीको सेयर हालसम्मकै सस्तोमा पाएपछि लगानीकर्ता आकर्षित भएका हुन् । तामाकोशी नेपालकै सबैभन्दा ठूलो हाइड्रोपावर हो । नेप्सेमा हाल ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । तीमध्ये आधादर्जन कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।अहिले अधिकांश हाइड्रोको सेयर मूल्य ३०० रुपैयाँ माथि रहेकोले लगानीकर्ताले यसको पनि चाँडै माथि पुग्ने आशमा सेयर किनेका हुन् ।

पछिल्लो समय सरकारले सेयर बजार सुधारका लागि प्रयास गरिरहेको छ । प्रणालीमा अधिक तरलता र ब्याजदर घट्दो क्रममा छ । नेप्से २ वर्ष बढी बियरिस ट्रेन्डमा रहेकाले आगामी दिनमा बजारले गति लिने लगानीकर्ताको अपेक्षा छ । अहिले सस्तोमा सेयर उठाएर राख्दा भविष्यमा राम्रै फाइदा लिन सकिने आशामा लगानीकर्ता कम्पनीको सेयरमा झुम्मिएका हुन् ।

त्यस्तै, नेप्सेमा सूचीकृत १३ समूहमध्ये हाइड्रोपावर सेक्टरमा उच्च आकर्षण देखिन्छ । वित्तीय अवस्था कमजोर भएका कम्पनीको पनि सेयर मूल्य आकाशिएका छन् । यस्तोमा तामाकोशीको पनि मूल्य बढ्ने आशामा सेयर किनेका हुन् । तामाकोशीको सेयर मूल्यमा बेलालबेलामा चलखेल समेत हुने गरेको छ । अहिले सस्तोमा उठाएकाले नाफा कमाउन फेरि मूल्य बढाउन सक्ने सम्भावना देखेर पनि केही लगानीकर्ताले सेयर किनेका हुन् ।

अहिले ऋणका कारण थलिए पनि कम्पनीले ऋण चुक्ता गरी सकेपछि राम्रो प्रतिफल दिनसक्ने देखिन्छ । कम्पनीले वार्षिक १० अर्ब बढीको बिजुली बिक्री गर्छ । साथै, कम्पनीले नयाँ आयोजना निर्माण अघि बढाएको छ ।  कम्पनीको सेयरमा गरिएको लगानीबाट दीर्घकालमा राम्रो फाइदा लिनसक्ने लगानीकर्ताको अपेक्षा छ ।

यस्तो छ वित्तीय अवस्था

तामाकोशी नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ४५६ मेगावाट क्षमताको आयोजना संचालन गरिरहेको कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी २५ करोड ७६ लाख रुपैयाँ  खुद नोक्सानीमा छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको छ । गत वर्ष पुससम्म तामाकोशी ८२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत् बिक्री आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा नोक्सानीमा गएको हो । मूल्यह्रास कट्टा गर्दा, रोयल्टी खर्च र प्रशासनिक खर्च बढ्दा कम्पनी नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीले बिजुली बेचेर ५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँको बिजुली बेचेको थियो ।

समीक्षा अवधिमा कम्पनीके वित्तीय खर्च ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ छ ।

धनगढी उपमहानगर भित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा Read Previous

धनगढी उपमहानगर भित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

मानव विकास सूचकाङ्कमा नेपाल ३ स्थान माथि उक्लियो Read Next

मानव विकास सूचकाङ्कमा नेपाल ३ स्थान माथि उक्लियो