धनगढी उपमहानगर भित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

कैलाली । एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला)सम्म १ किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् ।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, डिभोटी–जाई, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् । एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको रु १ अर्ब ३५ करोड बजेटबाट १०.२५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले बताए ।

उनका अनुसार १०.८ किलोमिटर सडक स्त्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग रु ७६ करोड ९० लाख ६७ हजारमा सम्झौता भएको हो ।

स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए । पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

धनगढी चौराहा–कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डीभोटी–पिपल चौतारा–जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ । साइकल पथको चौडाइ १.५ मिटर रहको छ भने नालीको चौडाइ १.२ देखि २ मिटर रहेको जनाइएको छ ।

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक निर्माण डिपिाएका गर्ने उल्लेख गरिएको आयोजना कार्यालयले जनाएको छ ।

यसैगरी, उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयनमा रहेका गेटा अस्पताल–जोनापुर, गेटा–लालपुर, हरैया–चौराही, लालपुर– गौठी, कत्था फ्याक्ट्री–जोनापुर, चौकीडाँडा–चाक्ले खोलालगायत सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

गोदावरीमा निर्माणाधीन सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको सूचना अधिकारी कलौनीले बताए । गोदावरीमा कालिका कन्ट्रक्सनसँग रु ५४ करोड ४३ लाख ९७ हजारमा सम्झौता भएको जनाइएको छ ।

सिंगटी हाइड्रोपावरको ४६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? Read Previous

सिंगटी हाइड्रोपावरको ४६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

दुई दिनमै तामाकोशीको ६६ करोडको सेयर किनबेच, किन बढ्यो ह्वात्तै आकर्षण ? Read Next

दुई दिनमै तामाकोशीको ६६ करोडको सेयर किनबेच, किन बढ्यो ह्वात्तै आकर्षण ?