काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर ६ महिनामै साढे ४ प्रतिशत बिन्दुसम्मले घटाएका छन् । एकोहोरो निक्षेप बढिरहने तर, सोही अनुपातमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले कात्तिकदेखि महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । आर्थिक शिथिलताका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले आफ्नो लागत घटाउन ६ महिनादेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका हुन् ।
६ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ३.०१ प्रतिशत बिन्दुले घटाएका छन् । गत कात्तिकमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर १०.२६ प्रतिशत रहेकोमा चैतसम्म आइपुग्दा ७.२५४ प्रतिशतमा झरेको छ ।
त्यसैगरी, यही अवधिमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २.१८६ प्रतिशत बिन्दुले घटेको छ । कात्तिकमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ८.१९ प्रतिशत रहेकोमा चैतमा ६ प्रतिशतमा झरेको छ ।
चालु वर्षको सुरूदेखि नै बढ्दो रेमिट्यान्स, आयात घट्नु, कर्जाको माग नहुनु लगायत कारणले एकोहोरो निक्षेप बढिरहेको छ । चालु वर्षको ७ महिना (माघ मसान्तसम्म) मात्रै ४ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । तर, यस अवधिमा कर्जाको माग नबढ्दा बंैकहरूले संकलन गरेको निक्षेपको आधा रकम पनि लगानी गर्न सकेका छैनन् । माघसम्म बैंकहरूले १ अर्ब ९७ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।
व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाउन महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् । विगतमा महँगोमा उठाएको निक्षेप लगानी गर्न नसक्दा ब्रैंकहरूलाई अहिले भारी भएको छ । बैंकहरूले ब्याज खर्च घटाई लागत कम गर्न निक्षेपको ब्याजदर घटाएका हुन् । गत वर्ष प्रणालीमा तरलता अभाव हुँदा बैंकहरूले निक्षेपको ब्याज १२ प्रतिशतसम्म थिएका थिए भने अहिले पैसा फालाफल भएपछि ब्याजदरमा भारी कटौती गरेका हुन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसक्दा उल्टो लागत बढेपछि कात्तिकदेखि ब्याजदर लगातार घटाउँदै आएका हुन् ।
साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेपछि त्यस यता बैंकहरूले आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
निक्षेपको ब्याजदर घट्दा कर्जाको समेत ब्याजदर घट्ने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । तर, बैंकमा निक्षेप राखेर ब्याज खानेहरूलाई भने घाटा लागेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेपमा मुद्दतीको हिस्सा ५९.८ प्रतिशत छ ।
हाल बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी तरलता (लगानी योग्य रकम) छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरूले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधा अन्तर्गत ३ प्रतिशत ब्याजदरमै पैसा राखिरहेका छन् । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समेत हम्मेहम्मे परिरहेको छ । राष्ट्र बैंकले हप्तैपिच्छे प्रणालीबाट अर्बौं रुपैयाँ खिचिरहेको छ ।
सरकार र नेपाल राष्ट्र बैंकले कर्जाको माग बढाउन नीतिगत लचकता अपनाउँदै आए पनि अपेक्षित रुपमा माग बढ्न सकेको छैन । बजारमा उपभोग्य वस्तुको माग र उद्यमीको मनोवल नबढ्दा अझै कर्जाको माग नबढेको जानकारहरू बताउँछन् ।
६ महिनामा कुन बैंकले कति घटाए निक्षेपको ब्याज ?
६ महिनाको अवधिमा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साढे ४ प्रतिशत बिन्दुसम्मले घटाएका छन् । जसमा एभरेष्ट बैंकले सबैभन्दा धेरै ४.५५ प्रतिशत बिन्दुले घटाएको छ ।
यस अवधिमा अरु ३ बैंकले पनि ४ प्रतिशत बिन्दुभन्दा धेरैले निक्षेपको ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले ४.३५ प्रतिशत, प्राइम कमर्शियले ४.११ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगाले ४.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन् ।
त्यसैगरी, नबिलले ३.८० प्रतिशत र हिमालयन बैंकले ३.५५ प्रतितश बिन्दुले घटाएका छन् । १३ वटा बैंकले २ देखि ३ प्रतितश बिन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । यस अवधिमा स्ट्याण्डर्ड चार्टले सबैभन्दा कम १.९२ प्रतिशत बिन्दुले मात्र ब्याजदर घटाएको छ । यद्यपि, कात्तिकमा चार्टको ब्याजदर अरु बैंकको तुलनामा निकै कम थियो ।
संस्थागत मुद्दतीमा पनि बैंक्हरूले ४ प्रतिशत बिन्दुम्म ब्याजदर घटाएका छन् । कृषि विकासले ४ प्रतिशत विन्दुले घटाएको छ । कृषिले कात्तिकमा संस्थागत मुद्दतीमा ८.०१ प्रतिशत ब्याज दिएकोमा चैतमा ४.०१ प्रतिशतमा झारेको छ ।
यसैगरी, संस्थागत मुद्दतीमा एभरेष्ट ३.५५ प्रतिशत, प्राइमले ३.११ प्रतिशत, हिमालयन ३.०५ र इन्भेष्टमेन्ट मेगाले ३.०५ प्रतिशत बिन्दुले घटाएका छन् । अरु बैंकले भने यस अवधिमा संस्थागत निक्षेपको ब्याजदर १ देखि २ प्रतिशत बिन्दुको बीचमा घटाएका छन् ।