काठमाडौं । चालु आर्थिक वर्षको सात महिना (साउन-माघ) वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले कुल ३५ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
माघ महिनामा मात्रै वाणिज्य बैंकहरूले ७ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । फागुनमा बैंकहरूले औसतभन्दा धेरै नाफा कमाएका हुन् । बैंकहरूले चालु आवमा औसतमा मासिक ५ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् ।
अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसक्दा यस वर्ष बैंकहरूले लक्ष्य अनुसार नयाँ कर्जा विस्तार गर्न सकेका छैनन् । अहिले बैंकहरूलाई विगतमा गरिएको कर्जाको ब्याजले नै भरथेग गरिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघ मसान्तसम्म बैंकहरूले १ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
पछिल्लो समय कर्जाको ब्याजदर सस्तिए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न र उद्यमीको मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।
राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, ७ महिनामा लक्ष्यको करिब ३५ प्रतिशत मात्र कर्जा विस्तार गरेको छ ।
यस्तै, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा पनि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् । समयमै कर्जा असुली नहुँदा खराब कर्जा बढ्न जाँदा बैंकहरूको प्रोभिजनिङ दायित्व बढेको छ ।
पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेका नीतिगत लचकताले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत देखिएको छ । घट्दो ब्याजदर र आर्थिक गतिविधि बढ्न थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकहरूको अपेक्षा ।
कुन बैंकले कति कमाए ?
माघसम्म नबिल बैंकले सर्वाधिक ३ अर्ब ९८ करोड खुद नाफा कमाएको छ । यस्तै, ५ वटा बैंकले २ अर्ब बढी नाफा कमाएका छन् ।
नबिललाई पछ्याएको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई २ अर्ब ६८ करोड, प्राइम् कमर्शियल २ अर्ब ५४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा २ अर्ब ३८ करोड र एनआइसी एशियाले २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
माघसम्म ९ बैंकले १ अर्बदेखि २ अर्बको बीचमा नाफा कमाएका छन् । एभरेष्ट बैंकले १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब ९४ करोड, हिमालयन १ ८३ करोड, १ अर्ब ६५ करोड, कृषि विकास १ अर्ब ५७ करोड, सिद्धार्थ १ अर्ब ४१ करोड, लक्ष्मी १ अर्ब ४० करोड, सानिमा समान १ अर्ब ४० करोड र कुमारी बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस अवधिमा ५ बैंकले भने १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएक छन् । सिटिजन ९९ करोड, माछापुच्छ्रे ९८ करोड, नेपाल ९५ करोड र प्रभुले ९२ करोड रुपैयाँ नाफा कमाएको छ । माघसम्म नेपाल एसबीआइ बैंकले सबैभन्दा कम ८५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।