हकप्रद सूचीकृतपछि अपर तामाकोशीको सेयर मूल्यमा पहिरो, खरिदकर्ता शून्य

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा पहिरो गएको छ । आज बजार खुल्ने बित्तिकै कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट अर्थात् १० प्रतिशतले घटेको हो ।

मंगलबार प्रतिकित्ता २०४ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता २०.४० रुपैयाँ घटेर १८३.६ रुपैयाँमा आइपुगेको छ ।

कम्पनीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएसँगै आपूर्ति दोब्बरले बढ्दा मूल्यमा भारी गिरावट आएको छ । यसैसाता नेप्सेमा कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

मंगलबार ११:५० बजेसम्म कम्पनीको साढे ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखिए पनि खरिदकर्ता भने शून्य रहेको छ । यस बेलासम्म कम्पनीको ५ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ ।

तामाकोशी नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ४५६ मेगावाट क्षमताको आयोजना संचालन गरिरहेको कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी २५ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा छ ।यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको छ । गत वर्ष पुससम्म तामाकोशी ८२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको थियो ।

विद्युत् बिक्री आम्दानी बढे पनि कम्पनीको खर्च बढ्दा नोक्सानीमा गएको हो । मूल्यह्रास कट्टा गर्दा, रोयल्टी खर्च र प्रशासनिक खर्च बढ्दा कम्पनी नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीले बिजुली बेचेर ५ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुससम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँको बिजुली बेचेको थियो ।

समीक्षा अवधिमा कम्पनीके वित्तीय खर्च ३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७२ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ छ ।

चैतमा १७ बैंकले घटाए ब्याजदर, एनआइसीले बढायो, कुनको कति ? Read Previous

चैतमा १७ बैंकले घटाए ब्याजदर, एनआइसीले बढायो, कुनको कति ?

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल Read Next

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल