चैतमा १७ बैंकले घटाए ब्याजदर, एनआइसीले बढायो, कुनको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले चैतमा पनि थप घटाएका हुन् ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् । बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् भने राष्ट्र बैंकले पनि बेलाबेलामा तरलता खिचिरहेको छ । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

चैतका लागि २० मध्ये १७ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने एनआइसी एशियाले बढाएको छ । दुई बैंकले भने फागुनकै ब्याजदर यथावत राखेका छन् । अरु सबै बैंकले निक्षेपको ब्याजदर घटाउँदा प्रभु र ग्लोबल आइएमई बैंकले भने अघिल्लै महिनाको यथावत राखेका छन् । एनआइसीले व्यक्तिगततर्फ ०.५४ प्रतिशत बिन्दु र संस्थागततर्फ १.५४ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएको छ ।

यद्यपि, चैतमा केही बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरको अन्तर १ प्रतिशत मात्रै हुनुपर्ने व्यवस्था गरेपछि संस्थागत निक्षेपको ब्याजदर बढाएका हुन् । यसअघि संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत फरक थियो ।

फागुनको तुलनामा फागुनमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.५० प्रतिशत विन्दुले घटाएका छन् भने संस्थागततर्फ ०.२६ प्रतिशत विन्दुले बढाएका छन् । फागुनमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७.७५८ प्रतिशत रहेकोमा चैतमा घटेर ७.२५३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर फागुनमा ५.७४८ प्रतिशत रहेकोमा चैतमा ०.२६ प्रतिशतले बढेर ६ प्रतिशत पुगेको छ ।

चैतमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.८८ प्रतिशतसम्म फरक भएको छ । एनआइसीले सर्वाधिक ८.५४ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार छटौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

प्रधानमन्त्रीले आज विश्वासको मत लिने Read Previous

प्रधानमन्त्रीले आज विश्वासको मत लिने

हकप्रद सूचीकृतपछि अपर तामाकोशीको सेयर मूल्यमा पहिरो, खरिदकर्ता शून्य Read Next

हकप्रद सूचीकृतपछि अपर तामाकोशीको सेयर मूल्यमा पहिरो, खरिदकर्ता शून्य