काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि लगातार उकालो लागेको नेप्सेले आज एकैदिन ५८ अंकको छलाङ मारेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम १ अर्ब ६३ करोडले बढेर ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले बढेर २१११.२१ बिन्दुमा पुगेको छ । यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रोफाइनान्स र जीवन बीमा समूहको परिसूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको छ । शिवम् सिमेन्टको सर्वाधिक ३७ करोड र सोनापुरको २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल, जाल्पा सामुदायिक, उन्नति सहकार्य, जनत्थान र स्वाभिमान लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।