काठमाडौं । नेपाली सेयर बजार साढे २ वर्ष यता बियरिस ट्रेन्डमा छ । २०७८ भदौमा ३१९८ बिन्दुको कीर्तिमान बनाएको नेप्से परिसूचक त्यसयता घटेर १८०० बिन्दुसम्म आइपुग्यो । यो बीचमा नेप्से पटक पटक २२०० बिन्दुमा पुगे पनि त्यसलाई ‘ब्रेक’ गर्न सकेको छैन ।
चालु वर्षको सुरूदेखि बैंकिङ प्रणालीमा अधिक तरलता छ । अहिले प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । कात्तिकदेखि बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । यसले कर्जाको ब्याजदर समेत सस्तिँदै गएको छ । पछिल्लो समय अर्थतन्त्र बाह्य क्षेत्र निकै बलियो अवस्थामा छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधार आइरहेको छ । राष्ट्र बैंकले पनि सेयर धितो कर्जामा नीतिगत लचकता अपनाउँदै आएको छ ।
तर, अर्थतन्त्रको ‘ऐना’ मानिने सेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताको मनेवल कमजोर हुँदा अनुकूल अवस्थामा पनि सुधार आउन नसकेको सेयर बजारका जानकारहरू बताउँछन् । सहज तरलता, सस्तो ब्याजदरसँगै लगानीकर्ताको मनोबल नबढी नेप्सेले लय समात्न नसक्ने उनीहरूको भनाइ छ ।
नियामकले ल्याउने अस्थिर र हचुवामा नीतिले लगानीकर्ता बेलाबेलामा त्रसित र आतंकित हुँदै आएका छन् । सेयर धितो कर्जाको सीमा, पूँजीगत लाभकर, लघुवित्तको लाभांशमा गरिएको कडाइ, मर्जर तथा एफपीओमा कर लगायत कारणले पछिल्लो समय पनि लगानीकर्तालाई बिच्काएको छ । उनीहरु नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको नेतृत्वप्रति आशावादी थिएनन् । जसकारण साढे २ वर्षदेखि नेप्से १८००-२२०० बिन्दुकै बीचमा तलमाथि गरिरहेको छ ।
यसैबीच, गत साता मात्रै अर्थ मन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री वर्षमान पुनप्रति भने सेयर लगानीकर्ता आशावादी देखिएका छन् । उनले गत बुधबार पदभार सम्हाले यता सेयर बजार लगातार बढ्दै आएको छ । पछिल्ला ४ दिनमा मात्रै नेप्से १०३ अंकले बढिसकेको छ । सूचकसँगै कारोबार रकम पनि बढ्दो क्रममा छ । यद्यपि, नेप्सेले यो लय कायमै राख्नेमा भने शंका छ ।
लगानीकर्ता यसकारण हुँदैछन् आशावादी
आगामी दिनमा सेयर बजारले कुन दिशा लिन्छ भन्ने तय नभए पनि अहिले भने लगानीकर्ता नयाँ अर्थमन्त्रीप्रति आशावादी देखिएका छन् । यसको प्रमुख कारण अर्थमन्त्रीको सेयर बजारप्रतिको सकारात्मक धारणा हो ।
नेपालमा राजनीतिक र नियामक निकायको नेतृत्वले सेयर बजारलाई नकारात्मक नजर हेर्न गरेका कयौं दृष्टान्त छन् । केही पूर्व अर्थमन्त्रीहरूले सेयर बजारलाई ‘जुवाघर’, ‘हावाले भरिएको बेलुन’, ‘अनुत्पादक क्षेत्र’ जस्ता नकारात्मक टिप्पणी दिएका दिए । उनीहरूले सेयर बजारलाई हेर्ने र बुझ्ने नजर नै गलत थियो ।
तर, नवनियुक्त अर्थमन्त्री पुनले पदभार सम्हाले लगत्तै अर्थतन्त्रसँगै सेयर बजार सुधार्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए । उनले आफूले ६० लाख लगानीकर्ताको हितमा काम गर्ने बताएका थिए । यसले उनीप्रति लगानीकर्ताको आशा र भरोसा बढेको हो ।
चरम निराशामा रहेका लगानीकर्तालाई अर्थमन्त्रीको बोलीले केही आशावादी बनाएको देख्न सकिन्छ । अर्थमन्त्री पुनले सेयर बजार सुधारका लागि पहल समेत थालेका छन् । उनले पूँजी बजारका समस्या समाधान गर्न नियमाक नियाकहरूलाई ७ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयले फागुन २७ गते पत्र लेख्दै पूँजी बजारका नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङलाई ७ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।
‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूको राय समेत लिई सात दिन भित्र कार्ययोजना पेश गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ ।
यसैगरी, अर्थमन्त्री पुनले ब्रोकर कमिशन घटाउने तयारी थालेका छन् । उनले विगत लामो समयदेखि अर्थमन्त्रालयमा अड्किएको ब्रोकर कमिसन घटाउने सम्बन्धी फाइलको अध्ययन अघि बढाएका छन् ।
सेयर बजारले पनि कम्निष्ट अर्थमन्त्रीहरूलाई पत्याएको इतिहास छ । नेप्सेले हरेकपटक अल टाइम हाइको रेकर्ड बनाउँदा वामपन्थी पृष्ठभूमिकै अर्थमन्त्री रहेका थिए । उनको पालामा पनि नेप्सेले नयाँ उचाइ चुम्ने लगानीकर्ताको अपेक्षा छ । यद्यपि, गठबन्धन सरकार भएकाले उनी कति समय पदमा बस्छन् भन्ने टुंगो छैन ।
अहिले वित्तीय सूचकहरू सेयर बजार अनुकूल छन् । ब्याजदर घट्दो क्रममा छ । प्रणालीका अधिक तरलता छ । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग न्यून छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको अंकुश क्रमशः खुकुलो बनाउँदै लगेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र २ वर्ष यताकै बलियो अवस्थामा । विदेशी मुद्रा संचिति, रेमिट्यान्स आप्रवाहले रेकर्ड बनाएको छ । चालु खाता र शोधान्तर स्थिति बचतमा छ । आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधारका संकेत देखिन थालेका छन् ।
यस्तो अवस्थामा अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकसँग सहकार्य गर्दै सेयर कर्जाको सीमा हटाउने र जोखिमभार घटाउनु पर्ने चुनौती छ । त्यस्तै, मातहतका नियामकलाई निर्देशन दिई ब्रोकर कमिशन घटाउने, मार्जिन लेन्डिङ सुविधा उपलब्ध गराउने व्यवस्था गर्न नसके नेप्सेले गति लिने लगानीकर्ताको अपेक्षा छ ।