काठमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ ।
उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ ।
कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ । आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ । त्यसकारण आजदेखि क्लिङ्कर उत्पादन बन्द रहेको बताइएको छ ।
उद्योगमा विगतमा उत्पादन भएको क्लिङ्करको मौज्दात पूर्णरुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए । कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उनले बताए । अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ । कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो । अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ ।
दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगको पुरानो मेसिनरी समस्या, बजार समस्या, प्रतिस्पर्धामा कमीलगायत नयाँ प्रविधि र जनशक्तिको अभावले गर्दा उत्पादन आफ्नो क्षमताअनुसार नहुँदा उद्योग विगत चार आर्थिक वर्षदेखि घाटामा रहेको उद्योगका तथ्याङ्कले जनाएको छ ।
उद्योगले चालू आर्थिक वर्षको छ महिनामा दुई लाख ४९ हजार ४५६ बोरा सिमेन्ट बिक्री गरेको छ । चालू आर्थिक वर्षको साउनमा ४८ हजार ९५५ बोरा, भदौमा ४५ हजार ५१० बोरा, असोजमा ५१ हजार ४८२ बोरा, कात्तिकमा २२ हजार ३८७ बोरा, मङ्सिरमा २५ हजार तीन सय ३७ बोरा तथा पुसमा ५५ हजार ७८५ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ ।
हाल त्यहाँ प्राविधिक तथा प्रशासनिक र ज्यालादारी गरी करिब तीन सय कर्मचारी तथा कामदार कार्यरत छन् । विसं २०३३ मा एसियाली विकास बैङ्कको सहयोगमा उद्योग स्थापना गरिएको बताइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योग तथा ऋद्धिसिद्धि सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा रहेको ती उद्योगका प्रशासनले जनाएको छ ।