काठमाडौं । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि आधा दर्जन बढी वाणिज्य बैंक कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गर्न नसक्दा पैसा भएर पनि ठूला बैंक ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
बैंकहरूले राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न नसक्दा थप ऋण दिन सक्ने अवस्थामा पुगेका हुन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आधा दर्जन बैंकको पूँजीकोष अनुपात सीमा नजिक रहेको छ । जसकारण ती बैंकलाई थप कर्जा विस्तार गर्न समस्या हुने भएको हो ।
अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी तरलता (लगानी योग्य रकम) छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो)पनि सीमाभन्दा निकै तल अर्थात् ८० प्रतिशत छ । तर, पूँजीकोषका कारण बैंकहरू कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।
राष्ट्र बैंकको व्यवस्था अनुसार हाल जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । तर, पुस मसान्तसम्म ३ बैंकको प्राथमिक पूँजी कोष सीमाभन्दा तल झरेको छ भने ३ बैंकको सीमा (८.५ प्रतिशत) नजिक छ । कुल पूँजीकोष अनुपात सीमाभन्दा माथि भए पनि प्राथमिक पूँजी कोषका कारण बैंकहरू दबाबमा परेका हुन् ।
राष्ट बैंकका अनुसार प्रभु, कुमारी र एनआइसी एशियाको प्राथमिक पूँजी कोष ८.५ प्रतिशतभन्दा कम छ । त्यस्तै, हिमालयन, नबिल र माछापुच्छ्रे बैंकको ९ प्रतिशतभन्दा कम छ ।
अहिले नै पूँजीकोषको दबाबमा रहेका बैंकहरू आगामी दिनमा झनै दबाबमा पर्ने देखिएको छ । राष्ट्र बैंकले चालु वर्षदेखि ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्दै २०८१ असार मसान्तसम्म थप ०.५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ । सो अनुसार आगामी असार मसान्तसम्म थप ०.५ प्रतिशत अर्थात् प्राथमिक पूँजीकोष नै ९ प्रतिशत कायम गर्नुपर्छ ।
पूँजी कोषको दबाबमा रहेका बैंकहरूलाई केही राहत दिन नेपाल राष्ट्र बैंकले फागुन दोस्रो साता सकुर्लर जारी गर्दै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ मा गणना गर्न पाउने व्यवस्था गरेको छ । यद्यपि, सो व्यवस्थाकाे प्रभाव देखिन बाँकी रहेको छ ।
अहिले बैंकमा प्रशस्त पैसा छ । ब्याजदर घट्दो क्रममा छ । पछिल्ला महिनाहरूमा क्रमशः कर्जाको माग पनि बढ्दै गएको छ । तर, आधादर्जन बैंकहरू भने पर्याप्त पैसा भएर पनि ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् ।
यी बैंकले ऋण दिन नसक्ने
राष्ट्र बैंकको तथ्यांक अनुसार आधा दर्जन बैंक ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । कर्जा निक्षेप अनुपातका आधारमा अधिकांश बैंकहरूको ऋण लगानी गर्ने ठाउँ प्रशस्त भए पनि पूँजीकोषका कारण ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् ।
आधा दर्जन बैंकको पूँजीकोषको चर्को दबाबमा रहेका छन् । हाल कुमारी, एनआइसी र प्रभु बैंक १ रुपैयाँ पनि ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको प्राथमिक पूँजी कोष क्रमशः ८.०३, ८.०४ र ८.१२ प्रतिशत छ । एफपीओ र मर्जरको बार्गेन पर्चेज बापतको प्रिमियमको कर तिर्नुपर्दा बैंकहरूको पूँजीकोषमा थप दबाब परेको हो ।
त्यस्तै, हिमालयन, नबिल र माछापुच्छ्रे बैंक पनि कर्जाको माग आए पनि लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको प्राथमिक पूँजीकोष ९ प्रतिशतभन्दा कम छ । आगामी असारसम्म प्राथमि पूँजीकोष ९ प्रतिशत (०.५ प्रतिशत थप) गर्नुपर्ने भएकाले अहिले नै ९ प्रतिशतभन्दा कम भएकाले ऋण दिन नसक्ने अवस्थामा छन् । पुससम्म प्राथमिक पूँजीकोष क्रमशः माछापुच्छ्रे ८.६६, हिमालयन ८.७ र नबिल ८.९३ प्रतिशत छ ।
त्यसैगरी, सिटिजन्स, सिद्धार्थ र एनएमबी बैंक पनि पूँजीकोषको दबाबमा छन् । पुससम्म यी बैंकको पूँजीकोष ९.२५ प्रतिशतभन्दा कम छ ।
हाल आधा दर्जन बैंक मात्र पूँजीकोषको आधारमा सहज अवस्थामा छन् । स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, प्राइम कमर्शियल, नेपाल र राष्ट्रिय वाणिज्य बैंकको मात्र प्राथमिक पूँजीकोष १० प्रतिशत माथि छ । यी बैंकलाई असारसम्म प्राथमिक पूँजीकोष ९ प्रतिशत कायम गर्न खासै दबाब नपर्ने देखिन्छ ।
पूँजीकोषमा दबाब भएका बैंकहरूलाई राष्ट्र बैंकले सूक्ष्म निगरानीमा राख्ने गरेको छ । त्यस्तै, उनीहरूकोे व्यावसायिक अवस्थाबारे जानकारी लिन राष्ट्र बैंकले आवश्यक ठानेमा मूल्यांकन लेखापरीक्षण गराउन सक्ने सक्छ । बैंकहरूले पूँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा शीघ्र सुधारात्मक कारबाही समेत गर्न सक्ने व्यवस्था छ ।
३ बैंकले लाभांश बाँड्न नपाउने
आगामी आर्थिक वर्षमा ३ वाणिज्य बैंकले चालु आवको नाफाबाट लाभांश् बाँड्न नपाउने भएका छन् । प्राथमिक पूँजीकोष कायम गर्न नसकेका एनआइसी एशिया, कुमारी र प्रभुले आगामी वर्ष लाभांश बाँड्न नपाउने भएका हुन् ।
कुनै आर्थिक वर्षको कुनै अवधिमा तोकिएको पूँजीकोष अनुपात कायम गर्न नसके राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँछ ।