काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिगत आवासीय कर्जा (२ करोड रुपैयाँभन्दा कमको) लगानीमा आक्रमक बन्न थालेका छन् । आर्थिक मन्दीका कारण अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले आकर्षक स्कीम ल्याएर घर कर्जा विस्तारमा केन्द्रित हुन थालेका हुन् ।
अहिले बैंकिङ प्रणालीाा साढे ६ खर्ब बढी तरलता (लगानी योग्य रकम) थुप्रिएको छ । आर्थिक मन्दीका कारण बजारमा उपभोग्य वस्तुको माग नबढ्दा उत्पादनमूलक, कृषि, व्यापार, हायर पर्चेज लगायत क्षेत्रमा कर्जाको माग छैन । एकोहोरो तरलता थुप्रिरहँदा लगानी बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले आकर्षक स्कीम ल्याएर घरकर्जा लगानीमा आक्रमक बन्न थालेका हुन् ।
साथै, पछिल्लो समय सरकार र नेपाल राष्ट्र बैंकले नीतिगत सहजता गरिदिएपछि बैंकहरू घरजग्गा क्षेत्रमा कर्जा विस्तारमा केन्द्रित हुन थालेका हुन् । अन्य कर्जाको तुलनामा घरकर्जाको जोखिमभार समेत कम भएकाले बैंकहरू ऋण लगानी गर्न इच्छुक देखिएका हुन् ।
सरकारले घरजग्गाको कारोबार बढाउन कित्ताकाट खुकुलो बनाएको छ । राष्ट्र बैंकले घरजग्गा कर्जाको सीमा र घरजग्गा धितोमा पाइने कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले व्यक्तिगत घरकर्जाको सीमा डेढ करोड रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो । राष्ट्र बैंकले रियल ई–स्टेट कम्पनीलाई दिइने कर्जाको जोखिम भार समेत १०० प्रतिशतमा झारेको छ ।
नीतिगत लचकतासँगै चालु वर्षान घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा समेत बढेको छ । पछिल्लो समय कर्जाको ब्याजदर समेत घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा ऋणको माग समेत बढ्न थालेको छ । गत वर्षको तुलनामा घर बनाउने क्रम बढ्न थालेको छ भने घरजग्गा किनबेच समेत बढ्दा ऋणको माग पनि बढेको हो ।
चालु वर्षको ६ महिनामा (साउन–पुस) आवासीय घर कर्जा लगानी ९.४ प्रतिशतले बढेको छ । चालु वर्षको साउनदेखि पुससम्म मात्रै बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल आवासीय कर्जा ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेकोमा पुस मसान्त आइपुग्दा बढेर ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ पुगेको हो । रियल इस्टेटसहित अहिले घरजग्ग क्षेत्रमा बैंकहरूको ६ खर्ब बढी ऋण लगानी छ ।
कुन बैंकका कस्ता योजना ?
अहिले बैंकहरूले धमाधम घरकर्जा स्कीम ल्याउन थालेका छन् । बैंकहरूले बेसरेटमा एक÷डेढ प्रतिशत प्रिमियम जोडेर घर सस्तो ब्याजमा घरकर्जा दिन थालेका छन् ।
अहिले बैंकहरूको औसत बेसरेट एकल अंकमा झरेको छ । थोरै बेसरेट भएका बैंकहरूले त एकल अंकको ब्याजदरमै घरकर्जाको स्कीम ल्याएका छन् । बैंकहरूले लामो समयसम्म स्थिर ब्याजदर (परिवर्तन नहुने) कर्जा योजना ल्याएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले एकल अंकको ब्याजदरमा घरकर्जा स्कीम ल्याएको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षका लागि स्थिर ब्याजदर ९.९९ प्रतिशतमा घरकर्जा योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदर भन्दा १ प्रतिशतबढीको प्रिमियमदर लागू हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत कर्जा लिँदा कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेबिट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा स्कीम ल्याएको छ । बैंकले ‘निश्चित आवास योजना’
अन्तर्गत घर निर्माण तथा खरिदका लागि ग्राहकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने छ ।
यस कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण पाउने छन् ।यस्तै, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।
बैंकले अधिकतम १२ करोडसम्म कर्जा उपलब्ध गराउने छ । यो सुविधा बैंकका देशभरका सबै शाखाबाट पाइने छ । ग्राहकले आवेदन दिएको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । साथै, अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले सहज रूपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।
त्यसैगरी, सरकारी स्वामित्वको नेपाल बैंकले ९.९५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको छ । बैंकले घर निर्माण तथा खरिदका लागि ग्राहकले मात्र ९.९५ प्रतिशत ब्याजदरमै घर कर्जा पाउनेछन् । घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा उपलब्ध हुने छ ।
यस्तो कर्जाको ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने अर्थात् स्थिर रहने बैंकले जनाएको छ । आवश्यक कागजपत्र पूरा गरी पेस गरेको ५ कार्यदिन भित्र ग्राहकले ऋण पाउने बैंकले जनाएको छ ।
यस्तै, अरु बैंकले पनि अहिले घर कर्जालाई प्राथमिकतामा राखेर योजना बनाइरहेका छन् । अहिले अधिकांश बैंकहरूले अधिकतम १२÷१३ प्रतिशतमै घरकर्जा उपलब्ध गराउन थालेका छन् । जसमा स्थिर ब्याजदरको कर्जा तुलनान्तमक रूपमा सस्तो ब्याजमा दिएका छन् भने ब्याजदर परिवर्तन हुने खालको कर्जाको ब्याज केही महँगो छ ।