काठमाडौं । महाशिवरात्रिको अवसरमा जहाज चार्टर्ड गरी डेढसय बढी तिर्थयात्रीले आकाशबाटै तिब्बतस्थित कैलाश मानसरोवरको दर्शन गरेका छन् ।
नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँग् सहकार्य गर्दै डेढसय बढी भारतीय पर्यटकलाई माउन्टेन फ्लाइटबाट मानसरोवरको दर्शन गराएको हो ।
ट्राभल कम्पनीले श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी मानसरोवर लगेको हो । यसअघि गत माघ १५ गते पहिलोपटक श्री एयरलाइन्सले नेपालगञ्जबाट मानसरोवरको माउन्टेन फ्लाइट गरेको थियो ।
माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ।
नेपालगञ्जको पर्यटन सुस्ताएको समयमा उक्त कम्पनीले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरेको हो।
कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए।
भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश-मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।