काठमाडौं । नयाँ सरकारको जिम्मेवारी बाँडफाँड भएको पहिलो दिन नेप्से परिसूचक १३ दशमलव ५१ अंक बढेर २ हजार ३० दशमलव ५५ विन्दुमा पुगेको छ ।
अर्थमन्त्रीको रुपमा आएका माओवादी नेता वर्षमान पुनले अर्थतन्त्रलाई गति दिन आफुसँग ठोस योजना रहेको बताएसँगै लगानीकर्तामा केही उत्साह देखिएको हो । सत्ता गठबन्धन परिवर्तनसँगै शेयर बजारमा पनि तीव्र उतारचढाव आएको हो ।
साताको अन्तिम कारोवार दिन बिहीवार नेप्से परिसूचक बढेर बन्द भएको छ । बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५४ प्रतिशत वृद्धि भएको छ ।
यस दिन ३०९ धितोपत्रको ८९ लाख २९ हजार १५२ कित्ता शेयर ४७ हजार ६९९ पटकमा ३ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । क
बिहीवार सबैभन्दा बढी एनआईसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ६ दशमलव २१ प्रतिशत घटेको छ । कम्पनीको इकाई मूल्य ८ रुपैयाँ १६ पैसा कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्री नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको ५६ करोड २० लाख रुपैयाँ बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ भने म्युचुअल फण्डको परिसूचक सबैभन्दा बढी शून्य दशमलव ७९ प्रतिशत घटेको छ ।