काठमाडौं । निरन्तर आफुले बिक्री वितरण गर्दै आएको ब्राण्डहरु खोसिदा एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलको कारोबारमा उच्च गिरावट आएको छ । सवारीसाधनको उपलब्धता कम हुनु र बजारमा ब्यापार घट्दा कम्पनीको कारोबार ६७ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२१ मा ६ अर्ब ५७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२२ मा ५ अर्ब १२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ ।
सन् २०२३ को सुरुवाती दिनसम्म कम्पनीले रोयल इनफिल्डका मोटरसाइकल र भेष्पा तथा अप्रिलिया ब्राण्डका स्कुटर बिक्री गर्दै आएको थियो । यी दुबै ब्राण्डको कारोबार निकै राम्रो थियो । यी दुबै ब्राण्ड खोसिएपछि कम्पनीको कारोबारमा उच्च गिरावट आएको हो ।
अहिले कम्पनीसँग महिन्द्राका ठूला कमर्शियल गाडी, टाटा हिटाची र जोन डियर ब्रान्डका ट्रयाक्टर तथा जेसिट् ब्राण्डका इलेक्ट्रीक स्कुटर मात्रै छ ।
विवेक दुगड अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५८ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब २२ करोड रुपैयाँको रेटिङ गराएको छ ।