‘ट्र्याक’ खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने सडक

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मङ्गलबारदेखि कालोपत्र सुरु भएको छ ।

गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

‘ट्रयाक’ खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उनले बताए।

जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । उनले भने, ‘पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ ।’ अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताए ।

कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ । विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो ।

उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले जानकारी दिए । रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । उक्त सडकको चौडाइ सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।रासस

सेयर बजारले गर्‍यो कमब्याक, सिमेन्टको सेयरमा उच्च आकर्षण Read Previous

सेयर बजारले गर्‍यो कमब्याक, सिमेन्टको सेयरमा उच्च आकर्षण

प्लाइउड आयातमा कडा कानुन कार्यन्वयनमा भारतको लचकता, ६ महिना पछि हट्यो Read Next

प्लाइउड आयातमा कडा कानुन कार्यन्वयनमा भारतको लचकता, ६ महिना पछि हट्यो