काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । सोमबार एकैदिन ११७ अंकले बढेर मंगलबार ७० अंकले घटेको नेप्सेमा फेरि आज सुधार आएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोडले घटेर ३ अर्ब ४५ करोडमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ ।
आज सिमेन्ट कम्पनीको सेयरमा उच्च आकर्षण देखिएको छ । सोनापुर सिमेन्टको सर्वाधिक ३३ करोड र शिवम्को झन्डै २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा दोल्ती पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएक छन् ।
मोलुङ हाइड्रोपावरका सेयरधनीले भने आज सर्वाधिक ९.७१ प्रतिशत गुमाएका छन् ।