काठमाडौँ । बंगलादेशले छिमेकी देशहरूबाट ९ हजार मेगावाट बिजुली किन्ने भएको छ । बढ्दो ऊर्जा मागलाई धान्न बंगलादेशले छिमेकी देशहरुसँग बिजुली किन्ने भएको हो ।
बंगलादेशका ऊर्जा तथा खनिज स्रोत मन्त्री नसरुल हमिदका अनुसार आन्तरिक माग धान्नका लागि छिमेकी मुलुकबाट ठूलो परिमाणमा बिजुली खरिद प्रक्रिया अघि बढाउने भएको हो ।
उनले बंगलादेश र भारतले आपसी सहकार्य गर्नका लागि पर्याप्त अवसर रहेको समेत बताए । ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली किन्न चाहन्छौँ,’ उनले भने, ‘नेपाल र भुटानबाट बिजुली आयातको प्रक्रियामा समेत अन्तिम चरणमा छ ।’
बंगलादेशी संचारमाध्यम ढाका ट्रिब्यूनका अनुसार नेपाल र बंगलादेशबिच ४० मेगावाट बिजुली किनबेचको सम्झौता आगामी महिना हुने सूचना भारतीय पक्षलाई मन्त्री हमिदले दिइसकेका छन् । यसबाहेक, भारतको जीएमआरमार्फत नेपालबाट ५०० मेगावाट बिजुली किन्ने प्रक्रिया समेत अन्तिम चरणमा छ ।
यसअघि नै नेपालबाट बिजुली खरिदका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सहमति भइसकेको छ ।