लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट’ अवार्ड

काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । कर्पोरेट मिडिया ग्रुपले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई सो अवार्ड प्रदान गरेको हो ।

आर्थिक चुनौतीलगायत विभिन्न आरोह र अवरोह झेल्दै नेपालको औद्योगिक विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।

पोखरामा साधारण परिवारमा जन्मिएर किराना पसल र फोटोग्राफीबाट व्यापारको यात्रा सुरू गरेका थिए । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्ने क्रममा उनले उत्पादनतर्फ कन्फेस्नरी, प्लाष्टिक र डेरी, ट्रेडिङतर्फ जयमाँ लक्ष्मी ट्रेडिङ, अटोमोटिभ्स र इलेक्ट्रोनिक्स तथा इन्फ्रास्ट्रक्चरतर्फ सिद्धी लक्ष्मी स्टिल उद्योगलाई लक्ष्मी ग्रुपको छातामुनि स्थापना गरेका छन् । पछिल्लो समय हुण्डाइको गाडी बेच्ने मात्र नभइ नेपालमै एसेम्बलिङ गर्ने तयारी लक्ष्मी ग्रुपले गरेको छ ।

कर्पोरेट मिडिया ग्रुपले हरेक वर्ष उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रलाई समेटेर अवार्ड प्रदान गर्दै आएको छ । यो वर्ष चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष शाहले जानकारी दिए ।

को हुन् गणेश बहादुर श्रेष्ठ ?

विस २००३ सालमा बुबा दिलबहादुर श्रेष्ठ र आमा पुतलीदेवी श्रेष्ठको कान्छो छोराका रूपमा पोखराको बागबजारमा जन्मिएका गणेश बहादुर श्रेष्ठ हाल प्रतिष्ठित व्यावसायिक समूह ‘लक्ष्मी ग्रुपका अध्यक्ष छन् । पोखराकै मल्टिपल नेशनल हाइस्कुलबाट विद्यालय शिक्षा हासिल गरेका उनले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न पाएनन् । तर, नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिन भने सफल बने ।

अध्ययन रोकिएपछि जीविकोपार्जनका लागि उनले किराना पसल र फोटोग्राफीलगायत विभिन्न काम गरे । त्यसबाट पनि सन्तुष्ट नभएका उनले वि।स। २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रुपमा काम गरे भने २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रुपमा तीन वर्ष पाल्पामा रही काम गरे ।

तर, नोकरीमा पनि सन्तुष्ट बन्न नसकेका श्रेष्ठले स्वरोजगार बन्ने उद्देश्य बोकेर २०३६ सालमा आफ्नो पुख्र्यौली पेसा पुष्टकारी बनाउने काम अँगाले । बुबा र बाजेले सामान्य ढङ्गबाट गर्दै आएको सो पेसालाई उनले व्यवस्थित गरी मास प्रडक्टतिर लगे । २०३० सालमा बुटलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरू गरे । त्यसअघि नै बुटवलमा चकलेट बनाएर असफल भएका व्यक्तिहरूले दिएको साधारण उपकरणमार्फत लक्ष्मी मिठाइ भण्डारलाई त्यहाँको औद्योगिक क्षेत्रभित्र स्थानान्तरण गरे ।

चकलेट बनाउन सुरू गर्दा अधिकांशले उनलाई पत्याएका थिएनन् । तर, कठोर सङ्कल्प, दिनरातको खटाइ र निरन्तरको मेहनतका कारण अन्ततः सफल भएरै छोडे । त्यतिमात्र होइन अहिले नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ओगट्दै आएको छ । तत्कालीन समयमा खासा हुँदै चीनसम्म आफ्नो उत्पादन निर्यात गरेको स्मरण गर्दै कामलाई कहिल्यै सानो ठान्न नहुने उनी बताउँछन् । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्दै अघि बढेका श्रेष्ठ प्लाष्टिक र डेरीको व्यापार हुँदै हुण्डाइको गाडी बेच्नेदेखि एसेम्बलिङ गर्नेलगायत थुप्रै उद्योगहरू लक्ष्मी ग्रुपको छातामुनी स्थापित गर्न सफल भएका छन् ।

पछिल्लो समय लक्ष्मी ग्रुपअन्तर्गतका अधिकांश कामहरू आफ्ना छोराहरू अञ्जन श्रेष्ठसहितलाई सुम्पिइ गणेश बहादुर भने सामाजिक काममा क्रियाशील रहँदै आएका छन् । पोखराको विन्दबासिनी मन्दिर व्यवस्थापनका लागि बनेको ‘विन्दवासिनी धार्मिक क्षेत्र विकास कोष’मा २२ वर्ष कोषाध्यक्ष र १५ वर्षदेखि अध्यक्षका रूपमा रहेका उनले मन्दिरको आम्दानीबाट निस्शुल्क स्कुल र अस्पताल सञ्चालन गर्दै आएका छन् । राज्यले जान्ने हो भने पुजारी नहटाइकनै त्यहाँको आम्दानीबाट विश्वविद्यालय र राम्रा अस्पतालहरू चलाउन सकिने उनी बताउँछन् । विन्दवासिनीको आम्दानीबाट निःशुल्करूपमा गुरुकुल विद्यापीठ सञ्चालनको तयारी र नेचुरल केयर हस्पिटल सञ्चालन भइरहेका छन् ।

राज्यले साँच्चै समृद्ध नेपालको नारा अघि सारेको हो भने त्यसलाई साकार पार्न ‘योङस्टार’हरूलाई उद्योग र व्यवसायसँग जोड्दै अघि बढाउनुपर्ने तथा राज्य सञ्चालनमा समेत ज्येष्ठ नागरिकलाई सम्मान दिएर युवालाई अघि सार्नुपर्ने विचार उनको छ । आफूले स्थापना गरेका उद्योग व्यवसायको जिम्मा आफ्नो छोराहरूलाई दिँदा थप मजबुत बनेको दृष्टान्त उनले दिए । इच्छाशक्ति र लगनशीलता हुँदा कुनै पनि काम गर्न पैसा नचाहिने र चुनौतीभित्र सफलता हुने भएकाले चुनौतीबिनाको काम नहुने उनी बताउँछन् । चुनौतीभित्र अवसर खोज्ने व्यक्ति कहिल्यै असफल नहुने भनाइ उनको छ ।

बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्ने, नेपालसँग आगामी महिना सम्झौता Read Previous

बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्ने, नेपालसँग आगामी महिना सम्झौता

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते Read Next

काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते