काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार एकैदिन ११७ अंकले बढेको नेप्से आज ७० अंकले घटेको हो ।
सत्ता समीकरण बदलिएर नयाँ सरकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेल बन्ने हल्लासँगै सोमबार नेप्सेमा पोजेटिभ सर्किट ब्रेक लागेको थियो । तर, आज अर्थमन्त्री पौडल नभई नेकपा माओवादीको तर्फबाट वर्षमान पुन बन्ने हल्लाका कारण गिरावट आएको हो ।
हिजो हल्लाकै भरमा बढेको नेप्से आज फेरि हल्लाकै आधारमा घटेको हो । मंगलबार नेप्से परिसूचक ३०.३० अंकले घटेर २००७.६९ विन्दुमा आइपुगेको छ ।
सूचमा गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ । यसदिन ३१६ कम्पनीको ४ अर्ब ८११ करोड रुपैयाँ बढीको १ करोड १४ लाख ६७ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर, व्यापार र उत्पादनमूलक समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ९१ लाख रुपैयाँ बढीको ८ लाख ५० हजार ४५१ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ८.७३ प्रतिशत कमाएका छन् भने बोटलर्स नेपाल बालुको सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।